काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड जनकपुरबाट फर्कने क्रममा सिधै कोटेश्वर पुगेका हुन् । दुई नेताबीच करिव ४५ मिनेट भेटवार्ता भएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । ‘पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल र कुराकानी भएको बुझिएको छ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी रहेका बेला अध्यक्ष प्रचण्ड र नेता नेपालबीच नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्ड धनुषाका माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवका निधनमा श्रद्धाञ्जली दिन आज जनकपुर पुगेका थिए । जनकपुरबाट फर्किएर उनी नेता नेपाल निवास पुगेका हुन् ।एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । बैठकले सहमतिको मस्यौदालाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।पार्टी अध्यक्ष ओलीले शुक्रवार र शनिवार बसेको एमालेको केन्द्रीय कमिटी बैठकमार्फत तीन दिन भित्र हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको अल्टिमेट दिएका थिए । तर, नेपाल समूहले हस्ताक्षर फिर्ता लिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटको बहस सोमबार सकिएको छ । उक्त मुद्दाको फैसला असार २८ गतेपछि आउने बताइएको छ ।