अछाम। अछाममा मदिरा सेवन गरि विवाद गरेको आरोपमा अछाममा एक जना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलाका वडा अध्यक्ष तारा प्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुधवार राति पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र रहेको विनायक बजारस्थित एक होटेलमा वडा अध्यक्ष खनालले मदिरा सेवन गरि होटेलका सञ्चालकमाथि हातपात गर्नुका साथी महिलामाथि अभद्र व्यवहार गरेको गुनासोका आधारमा प्रहरीले उनलाई बुधवार राति नै नियन्त्रणमा लिएको बताइएको छ ।
वडा अध्यक्ष खनाललाई बुधवार राति नै जिल्ला प्रहरी कार्यालयमा लगिएको र अहिले विवाद समाधानका लागी दुवै पक्ष बिच छलफलको तयारी भइरहेको नेपाली काँग्रेसका एक नेताले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराका अनुसार वडा अध्यक्ष खनालले मदिरा सेवन गरि अभद्र व्यवहार गरेको गुनासोका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बोहराले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका वडा अध्यक्ष तारा प्रसाद खनाल नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । खनाल पञ्चदेवल नगरपालिकाको प्रभावशाली वडा अध्यक्षका रुपमा चिनिन्छन् ।