काठमाडौं। नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरिएको छ। पूर्व खेलकुद मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य जगत बहादुर बिश्वकर्माले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गर्नु भएको छ । एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा नेता विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा माग गर्नु भएको हो ।
उहाँले जातीय विभेदलाई प्रश्रय दिने काम मन्त्रीबाटै भएको भन्दै तत्काल मन्त्री पदबाट राजीनामा दिनु पर्ने बताउनु भयो । संचारकर्मी रुपा सुनारलाई दलित भएकै कारण कोठा भाडा नदिएको भन्दै उजुरी परेपछि बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई पक्राउ गरेको थियो । पक्राउ परेकी प्रधानलाई मन्त्री श्रेष्ठले छुटाएर आफू सवार गाडिमा लिएर घर लानुु भएको थियो । त्यसपछि मन्त्री श्रेष्ठको चौतर्फी बिरोध भइरहेको छ । मन्त्री श्रेष्ठले मंगलबार राष्ष्ट्रिय मानवअधिकार आयोग समक्ष माफी समेत माग्नु भएको थियो ।