बैतडी। बैतडीमा विद्युत विस्तारको माग गर्दै जनप्रतिनिधि नै आमरण अनसनमा बसेका छन् । गाउँमा विद्युत विस्तार नभएको भन्दै बैतडीको मेलौली नगरपालिका वडा नं ९ का वडा सदस्य भीमदत्त भट्ट आमरण अनसनमा बसेका हुन् । गाउँमा विद्युत नभएकै कारण चितुवाको आक्रमणबाट स्थानीयहरुले अकालमा ज्यान गुमाउनु परीरहेकाले आमरण अनसनमा बसेको वडा सदस्य भट्टले जानकारी दिए । उनले भने ‘हाम्रो माग सबै वडामा विद्युत विस्तार होस भन्ने हो । अहिले चितुवा प्रभावित क्षेत्र मेलौलीको ८ र ९ नम्बर जसरी भएपनि विद्युत विस्तार होस भन्ने हो । हाम्रो माग पूरा नहुन्जेल सम्म हामी अनसन छोड्दैनौं ।’उनले भने ।
मेलौली नगरपालिका भवनकै आँगनमा आफूहरुले सोमबार बिहानदेखि अनसन शुरु गरेको वडा अध्यक्ष भट्टले बताए । अहिले वडा सदस्य भट्ट सहित स्थानीय बमबहादुर चन्द अनसनमा बसीरहेका छन् । आफूहरु सबै स्थानीयको प्रतिनिधित्व गरेर अनसनमा बसेको भट्टले भने । मेलौली नगरपालिकाको वडा नं ८ र ९ को सिमानामा पर्ने डडेल्धुराको भागेश्वरमा विद्युत पुगिसकेकाले त्यतैबाट विद्युत विस्तारका लागि पहल गर्नुपर्ने उनीहरुको माग छ । ‘जसरी भएपनि यो आर्थिक बर्षभित्र विद्युत विस्तारका लागि प्रतिबद्धता नआएसम्म अनसनमा बस्छौं ।’वडा सदस्य भट्टले भने, ‘नगरपालिकाको नीति तथा कार्यक्रममा पनि विद्युत विस्तारको कुरा आएको छ । त्यसलाई कार्यान्वयनका लागि बजेट छुट्याएर काम अघि बढोस भन्ने हाम्रो माग हो ।’
यता मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले विद्युत विस्तारका लागि पालिकाले गर्नुपर्ने सम्पूर्ण प्रयास गरिरहेको बताए । उनले भने ‘मेलौलीमा सवस्टेशन निर्माणका लागि नेपाल विद्युत प्राधिकरण प्रादेशिका कार्यालयले प्रक्रिया अघि बढाईसकेको छ । यो काम जतिसक्दो चाँडो होस भनेर हामीले पालिकाका तर्फबाट समेत समन्वय गरिरहेका छौं ।’ विद्युत विस्तारको काम प्रक्रियामा अघि बढीसकेकाले अनसन बस्नु आवश्यक नरहेको नगरप्रमुख नायकले बताए ।यसअघि आइतबार मात्रै मेलौली नगरपालिका वडा नं ८ र ९ का स्थानीयले विद्युत विस्तारको माग गर्दै नगरप्रमुख नायकलाई ज्ञापनपत्र बुझाएका शिक्षक अर्जुन कुँवरले बताए । ।