कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले कर्मचारीलाई कार्यालयबाटै गाली गर्दै लखेटेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले कर्मचारीलाई कार्यालयबाट अपशब्द प्रयोग गर्दै लखेटेका हुन् ।शनिबार कृषि विकास निर्देशनालय दिपायलको अनुदान मेसिनरी औजार वितरण कार्यक्रम अन्र्तगत किसानसँग सम्झौता गर्न गएका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनक बहादुर सिंह लगायतको टोलीलाई मेयर हमालले अपशब्द प्रयोग गर्दै कार्यालयबाट आज बिहान लखेटेका हुन् ।
‘कृषि निर्देशनालय अन्र्तगतको मेसिनरी औजार वितरण कार्यक्रम अन्र्तगत मलाई काजमा खटाएर किसानसँग सम्झौता गर्न पठाएको हो’, सिंहले भने, ‘कार्यालय भित्र कृषि शाखामा किसानलाई फारम वितरण गरिरहेको बेला मेयर साप आएर चोर भन्दै गाली गर्दै बाहिर पठाए ।’नगरपालिकालाई कार्यक्रमका बारेमा हप्ता दिन अगाडि नै कार्यक्रमको बारेमा जानकारी दिइसकेको सिंहले बताए । नगरपालिकाको कृषि शाखाको बाहिर सूचना समेत टाँस गरेको उनले बताए ।
सिंहले भने, ‘मेयर सापले काम गर्न नदिएपछि नजिकै रहको इलाका हुलाक कार्यालयमा बसेर सम्झौता गरेर निस्कियौँ ।’ शुक्रबार कञ्चनपुरको बेलौरी, बेलडाँडी, पुनर्वास र लालझाडीमा किसानसँग सम्झौता गरिएको थियो । शुक्रबार काम सम्पन्न नभएको हुँदा शनिबार बिहान पनि कार्यक्रम राखिएको थियो । शनिबार कृष्णपुरका साथै भीमदत्त, शुक्लाफाँटा, बेदकोटमा सम्झौता सक्ने कार्यक्रम तय भएको प्राविधिक सिंहले जानकारी दिए । मेसिनरी सामग्री सम्झौता कार्यक्रममा प्राविधिक सहायक सिंहको नेतृत्वमा ४ जनाको टिम खटिएको थियो ।
शनिबार काम गर्न नपाउने भन्दै मेयर हमालले आफुहरुलाई लखेटेको प्राविधिक सहायक जनक बहादुर सिंहले बताए ।मेयर हमालले काम गर्न नदिएपछि नजिकै रहको इलाका हुलाक कार्यालयमा बसेर सम्झौता गरेर फर्किएको जानकारी दिए । निर्देशनालयले कृष्णपुरका १५ जना किसानलाई मेसिनरी औजार वितरण गर्ने कार्यक्रम रहेको सिंहले जानकारी दिए । मेयर हमाल केही दिन पहिले पनि रातिको समयमा रक्सी माग्दै एक होटल संचालकलाई धम्की दिएको आरोपमा विवादमा तानिएका थिए ।