धनगढी। स्थानीय तहहरूले कोरोनाबाट जनजीवन प्रभावित अवस्थामा नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरेका छन् । ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहले केही दिनयता धमाधम गाउँ तथा नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । वैधानिक व्यवस्थाअनुसार बिहीबार असार १० भित्रै नीति तथा कार्यक्रम र बजेट गाउँ तथा नगरसभामा पेस गरिसक्नुपर्ने भए पनि केही जिल्लाका स्थानीय तहले नीति तथा कार्यक्रम मात्रै पेस गरेका छन् भने केही स्थानीय तहको आन्तरिक विवादका कारण पेस गरेका छैनन् ।
५ स्थानीय तहको बजेट आएन
७ पहाडी र २ तराईका समेत ९ जिल्लामा ८८ स्थानीय तह रहेको सुदूरपश्चिममा तराईका कैलालीका १३ र कञ्चनपुरका ९ स्थानीय तहले बिहीबारसम्म बजेट र नीति तथा कार्यक्रम पेस गरेका छन् । यस्तै, पहाडी जिल्लामा बझाङ, डडेलधुरा, बाजुरा, अछामका स्थानीय तहले पनि निर्धारित समयमै बजेट र कार्यक्रम प्रस्तुत गरेका छन् । डोटीको पूर्वी चौकी गाउँपालिका, बैतडीको डिलासैनी र दार्चुलाको नेकम गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट पेश गरेनन् । दार्चुलाका ब्यास, दुहु र अपीहिमाल गाउँपालिकामा नीति तथा कार्यक्रम पेश गरे तर बजेट ल्याउन सकेनन् । सुदूरपश्चिमकै एक मात्र कैलालीमा धनगढी उपमहानगरपालिकाको बजेट सबैभन्दा बढी छ । उपमहानगरपालिकाले मंगलबार १ अर्ब ८१ करोडको बजेट प्रस्तुत गरेको हो । कैलालीमा धनगढीपछि गोदावरीको १ अर्ब १९ लम्की चुहा नगरपालिकाको वार्षिक बजेट पनि १ अर्ब बढी छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको बजेट धनगढीपछि दोस्रो १ अर्ब ५९ करोड छ । पहाडी जिल्लाका गाउँपालिका र नगरपालिकाको बजेट स्थानीय तहको क्षेत्रफल, जनसंख्याका आधारमा ३५ करोडदेखि ६ करोडको हाराहारीमा छ । डोटीको शिखर नगरपालिकाको बजेट ५७ करोड, दिपायलको ५५ करोड र सबैभन्दा कम बढी केदार गाउँपालिकाको ३४ करोड छ । संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकमको यकिन विवरण प्राप्त भएपछि मात्र स्थानीय तहको वास्तविक बजेट थाहा हुने जनप्रतिनिधिहरू बताउँछन् ।
सुदूरपश्चिमका स्थानीय तहहरूले आगामी वर्षको बजेटमा सडकसँगै स्वास्थ्य सेवालाई पनि विशेष प्राथमिकतामा राखेका छन् । स्वास्थ्यसँगै, सडक, कृषि, शिक्षा, पर्यटन र खानेपानी तथा सिँचाइ क्षेत्रमा बजेट विनियोजन गरिएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आफ्नो कुल बजेट ९२ करोड ५६ लाखमध्ये १५र१५ करोडका २ कोभिड अस्पताल बनाउने योजना छ । गत वर्ष र यो वर्ष पनि कोरोनामा अक्सिजनसमेत नपाएर संक्रमित बिरामीको मृत्यु भएकाले स्वास्थ्य सेवामा बजेट बढाएको अछामको मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताए ।