धनगढी। नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका कैलालीका ४ सहित देशभर १४ जना जनप्रतिनिधिहरु पदमुक्त भएका छन । निर्वाचन आयोगले शुक्रबार सुचना जारी गरी कैलालीका ४ सहित देशभरका १४ जना जनप्रतिनिधिहरु पदमुक्त भएको जनाएको छ।
पदमुक्त हुनेमा कैलालीको भजनी नगरपालिकाकी उपप्रमुख छाँया देवकोटा, गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं.१ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका वडा नं. ४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका वडा नं.४ का वडाध्यक्ष पुरन बि।सि रहेका छन । यसैगरी पदमुक्त हुनेमा रौतहटका ७ जनप्रतिनिधि तथा सिराहा, ओखलढुंगा र महोत्तरीका एक/एक जना रहेका छन।
असार ७ मा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो। सोही दिन माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगलाई पद रिक्त भएको सूचना जारी गर्न ताकेता गरेका थिए ।