धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । सुदूरपश्चिम सरकारले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता भने पनि पूर्वाधार विकासमा सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । जसमध्ये सुदूरपश्चिम प्रदेश सरकारले सबैभन्दा बढि बजेट भौतिक पूर्वाधार विकास तर्फ बिनियोजन गरेको छ भने सबै भन्दा कम बजेट भने आर्थिक मामिला तथा योजना मन्त्रालयलाई छुट्याएको छ ।
प्रदेश सरकारले घोषणा गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा भौतिक पूर्बाधार विकास मन्त्रालयका लागि ११ अर्ब ७५ करोड ८३ लाख बजेट बिनियोजन गरेको छ । जुन कुल बजेटको ३८ दशमलव ८ प्रतिशत रकम हो । दोस्रो बढि रकम पाउनेमा सामाजिक विकास मन्त्रालय परेको छ । उसले कुल बजेटको १९ दशमलव ४ प्रतिशत रकम हो । यद्दपि दोस्रो बढि रकम बिनियोजन गरिएको सामाजिक विकास मन्त्रालय भन्दा सबैभन्दा बढि रकम बिनियोजन गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयको रकम दोब्बर छ । सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ८८ करोड ५९ लाख बिनियोजन गरिएको छ ।
तेस्रो बढि रकम पाउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ८३ करोड ५६ लाख रुपैया बिनियोजन गरिएको छ । यो कुल बजेटको ९ दशमलव ३ प्रतिशत रकम हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ११ करोड ३८ लाख ४१ हजार रुपैया बिनियोजन गरिएको छ । जुन रकम कुल बजेटको ७ प्रतिशत हुन आउछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका लागि १ अर्ब ४५ करोड २ लाख बिनियोजन गरिएको छ । जुन कुल बजेटको ४ दशमलव ८ प्रतिशत हुन आउछ ।आन्त्तरिक मामिला तथा कानून मन्त्रालयका लागि ४२ करोड ८५ लाख रुपैया (एक दशमलव ४ प्रतिशत) बिनियोजन गरिएको छ।सबैभन्दा कम बजेट आर्थिक मामिला मन्त्रालयका लागि बिनियोजन गरिएको छ । आर्थिक मामिला मन्त्रालयले ३० करोड ३३ लाख २३ हजार रुपैया(एक प्रतिशत)पाएको छ ।