धनगढी । सेती प्रादेशिक अस्पतालकाे तेस्रो तलाबाट हाम फालेका मृगौला पीडित ६३ वर्षीय चक्रबहादुर सिंहकाे मृत्यु भएकाे छ ।
मंगलबार दिउँसो अस्पतालकाे छतबाट हाम फालेका गाेदावरी नगरपालिका-१ का सिंहकाे उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले सिंहकाे उपचारका क्रममा चिकित्सकले मृत घाेषणा गरेकाे बताए ।
मृगौला पीडित सिंह प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए । साेमबार अस्पताल भर्ना भएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । उनकि श्रीमती ईश्वरीदेवी सिंह कुरूवा बसेकी थिइन् । श्रीमती निदाएका बेला सिंह छतमाथि उक्लिएका थिए ।
प्रहरीले उनलाई छतमा चढेकाे देखेर वार्ड फर्किन आग्रह गरेकाे थियो तर हेर्दाहेर्दै उनले हाम फालेका थिए ।


