धनगढी: सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेयक प्रतिनिधि सभाको सोमबारको कार्यसूचीबाट हटाइएको छ । सोमबार बसेको प्रतिनिधिसभामा विधेयक पेस गर्ने कार्यतालिका रहेको भए पनि कार्यसूचीको ३ मा रहेको विधेयक पास गर्दै सभामुख देवराज घिमिरेले कार्यसूचीको ४ मा रहेको विश्वविद्यालयको विधेयक हटाएको जनाकारी दिएका हुन ।
सोमबारको दैनिक कार्यसूचीको ४ (क) मा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक माथि छलफल गरियोस् भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पेस प्रस्तुत गर्ने र ४ (ख) मा पारित गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको थियो । तर, सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्द्री प्रसाद पाण्डेले पेस गरेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक पारित गर्दै बैठक सकिएको छ ।
अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेयक २०८० माघ २९ गते राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएको लामो समय बितिसक्दा पनि विधेयक प्रतिनिधि सभामा पेस नगरिएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । विधेयक ल्याउन ढिलाइ हुँदा हाल गेटामा ३ वर्ष अघि नै निर्माण सम्पन्न भएका भौतिक संरचना प्रयोगविहीन अवस्थामा रहेका छन् ।