धनगढी: प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले वर्षायाम नजिकिँदै गर्दा बाढी र पहिरोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज सोमबारको बैठकमा शून्य समयमा बोल्दै कञ्चनपुर क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तामाङले प्रत्येक वर्ष कञ्चनपुर जिल्लाका दोदा नदी, चौधर नदी, महाकाली नदी र झर्ना खोलाले ठूलो धनजनको क्षति पुर्याउँदै आएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । गत वर्ष बाढीले कटान गरेका क्षेत्रहरूमा अझै पनि तटबन्ध निर्माण कार्य नहुनु दुःखद भएको सांसद तामाङको भनाइ छ ।
उनले वर्षातको समयमा अझ ठूलो क्षति हुन सक्ने भन्दै अहिले नै अति संवेदनशील स्थानहरूमा तत्काल तटबन्ध निर्माण गर्न आग्रह गरे । साथै दीर्घकालीन समाधानका लागि चुरे क्षेत्रदेखि भारतसम्म फैलिएको दोदा नदी र चौधरी नदीमा बहुउद्देश्यीय तटबन्ध निर्माण गरी नदीलाई मानव र प्राणीमैत्री बनाउने व्यापक गुरुयोजना बनाउन जोडदार माग गरे । सांसद तामाङले बाढीपहिरोबाट जनताको जीवन र सम्पत्तिको सुरक्षा गर्न सम्बन्धित निकायहरूलाई तत्काल तयारी अवस्थामा रहन समेत अनुरोध गरेका छन् ।