धनगढी : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि सोमबार कैलाली पुग्ने कार्यक्रम रहेको छ । उनी सोमबार र मंगलबार कैलालीमै रहने भएका हुन् । नेकपा माओवादीको जनतासँग माओवादी विशेष कार्यक्रम अन्तरगत थालिएको तराई–मधेश हुलाकी मार्ग जागरण अभियानको क्रममा उनी बैशाख १६ गते अर्थात भालि सोमबार साँझ टीकापुर नगरपालिका ८ सत्ती कर्णाली पुल पुग्ने कार्यक्रम रहेको छ । उनको रातिको बसाइ टीकापुर नगरपालिका ७, ८ र ९ स्थित सूर्यपुर र झुंगा बस्तीमा हुने भएको छ ।
त्यस्तै उनी मंगलबार झुंगामा आयोजना हुने जनसभालाई सम्बोधनपछि भजनी नगरपालिका हुँदै कैलारी गाउँपालिका ५ बैजपुर पुग्ने कार्यक्रम रहेको माओवादी केन्द्रका कैलारी गाउँपालिका समिति अध्यक्ष बतासु चौधरीले जानकारी दिए । त्यहाँ पनि उनको शहीद परिवार भेटघाट, जनसभा सम्बोधनलगायतको कार्यक्रम रहेको बताइएको छ ।
त्यसपछि कैलारीमै जनसभालाई सम्बोधन गरी प्रचण्ड फुलवारीमा सहिद परिवार सगं भेटघाट गर्ने छन् । १६ गतेनै त्यसपछि धनगढीमा अन्तरक्रिया कार्यक्रम गरी धनगढी भन्सारमा अभियान टोलीको विदाई गर्ने कार्यक्रम रहेको छ ।
प्रचण्डको निर्देशन कार्यान्वयन होला ?
माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलभित्र १४ महिना देखी विवाद छ । १२ माघ २०८० मा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरिएपछि दलभित्रको विवाद सतहमा आएको थियो । धामीसहित संसदीय दलका उपनेता अक्कलबहादुर रावल, प्रदेशसभा सदस्य शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए ।
त्यो समयमा खगराज समूहमा रमेशसिंह धामी, जानकीदेवी कुँवर र झपटबहादुर साउद मात्रै देखिए । तर, अहिले शिव ओली पनि भट्ट समूहमा छन्, जसका कारण अहिले भट्ट र धामी पक्षमा पाँच–पाँच जना सांसद छन् । धामीलाई हटाएर खगराजलाई दल नेता बनाउन अध्यक्ष प्रचण्डले पाँचपटक निर्देशन दिइसकेका छन् । तर, उनको निर्देशन कार्यान्वयन नभएपछि गत फागुनमा प्रचण्डले माओवादी केन्द्रका सबै प्रदेश सांसदलाई खुमलटार बोलाएका थिए ।
सो बेलाको छलफलमा पनि प्रचण्डले खगराजलाई दल नेता बनाउने निर्देशन कार्यान्वयन गर्न फेरि निर्देशन दिएका थिए । फागुन २० मा कैलालीको टिकापुर आउने खबर सुनाउँदै प्रचण्डले त्यहाँ पुग्नु अघी दल नेता फेर्न निर्देशन दिएका थिए । प्रचण्डले भनेका थिए, ‘म कैलाली पुग्नुभन्दा अगाडि नै दलको नेता फेर्ने मेरो निर्देशन कार्यान्वयन हुनुपर्छ । धेरै दायाँबायाँ मलाई थाहा छैन ।’
तर, प्रचण्डको उक्त निर्देशन पनि कार्यान्वयन भएन । त्यो निर्देशन पछि फागुन २० गते प्रचण्ड कैलालीको टिकापुरमा थारू राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न आए । तर उनको निर्देशन कार्यान्वय भएन । यो अभियान शुरु भएको बेला अध्यक्ष कमरेडले हालको दल नेतालाई कैलाली आउनुअघी खगराजलाई दल नेता बनाउनु भनेर कडा निर्देशन दिनुभएकै थियो प्रदेशसभा सदस्य शिव सिहं ओलीले भने “अध्यक्षज्यूले कडा शब्दमा निर्देशन दिनुभएको थिया तर, यहाँ त दलको बैठकसमेत बसेको छैन, अब फेरी अध्यक्ष कैलाली आउँदै हुनुहुन्छ अब आफ्नै रोहबरमा त्यो निर्देशन कार्यान्वयन गराएर जानुहुन्छ भन्ने अपेक्षा छ ।”
संसदीय दलका नेता मान बहादुर धामी सहित प्रदेशसभा सदस्य अक्कल बहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी माल खगराजलाई नेता बनाउन तयार भएनन् । उनीहरूले पार्टीको प्रदेश इञ्चार्ज रहेका उपमहासचिव गिरिराजमणि पोख्रेललाई हटाएर आफ्नो पक्षका नेताहरूलाई इञ्चार्ज बनाएपछि मात्रै दलको नेता खगराजलाई बनाउने बताएका छन् । उनीहरूले विना मगर, त्रिलोचन भट्ट र लक्ष्मीदत्त जोशीमध्ये कुनै एकलाई प्रदेशको इञ्चार्ज बनाउनुपर्ने माग अघि सारेका छन् ।