काठमाडौं : बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहकारी संस्थाहरु आम जनताको सुख दुःखको साथी बनेको दाबी गरेका छन् । कैलालीको धनगढीस्थित नवजीवन सहकारीले पहिलो पटक आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि देवकोटाले समूहले व्यक्तिलाई उत्थान गर्नुपर्दछ र गर्न सकिन्छ भन्ने उदाहरण सहकारीले दिएको दाबी गर्दै सबै सहकारीकर्मीका लागि यो गौरवको कुरा भएको बताए ।
संविधानले सरकारी, सहकारी र नीजि क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बाको रुपमा उल्लेख गरेर सहकारी क्षेत्रको बिस्तार र प्रर्वद्धनमा जोड दिएको बताए । यसले सहकारी क्षेत्रको चुनौती र कमीकमजोरीलाई चिर्दै संविधान र कानुन प्रदत्त अधिकारको उपयोगसहित आम जनताको जीवनस्तर उकास्ने अभियानको सारथी बन्न अभिप्रेरित गरेको उनले उल्लेख गरे ।
सुर्केथैली, बाकस अनि पटुकीमा पोको पारेका निम्न आय समूहका पैसा जनताको बैङ्कका रुपमा सहकारीले सहकार्यमा परिचालन गरेको दाबी उनले प्रस्तुत गरे । ‘त्यत्तिकै निस्क्रिय रहेको पैसा अण्डा दिने कुखुरा भएको छ’, प्रदेश प्रमुख देवकोटाले भने, ‘यो खुशीको कुरा हो ।’
व्यक्तिगत र पारिवारिक ढङ्गले सञ्चालन गरिएका र केही बदमास नियतकाले नेतृत्व गरेका सहकारीले यो अभियानमा हिलो छ्याप्न खोजेको उनले बताए । ती सिमित उदाहरण बाँकी सहकारीको लागि सिकाइ होस् र सहकारीको मर्यादा कायम रहोस् भन्ने सबैको चाहना भएको उनले बताए । ‘नकारात्मकताको बिउ रोपेर सकारात्मकता उम्रन सक्दैन, ’उनले भने, ‘त्यसैले केही छिटपुट बदनियतलाई समग्र सहकारी जगतको बदनामीमा जोड्नु घोर अन्याय हुनेछ ।’
पैतिस हजार सदस्यको आवद्धता, पाँच अर्बभन्दा बढी निक्षेप संकलन, चार अर्बभन्दा बढी कर्जा प्रवाहसहित देशका सहकारी मध्येकै एक अग्रणी र उत्कृष्ट सहकारीको रुपमा आज नवजीवन उभिएको उनले बताए । नवजीवन आजको जस्तो गौरवपूर्ण अवस्थामा आउनुमा आफू लगायत केही साथीहरुको सहकार्यको परिकल्पना, होस्टेमा हैँसे गर्नेहरुको साथ र एउटा अवोध बालकको जीवनदानको घटनाको परिदृश्यसँग जोडिएको उनले चर्चा गरे ।
‘२०४८ सालको कुरा हो, सडक दुर्घटनाको आलो घाउले रन्थनिएको एउटा बेसहारा बनेको बालकलाई हामी केही साथीहरु मिलेर अस्पताल र उपचारको पहलमा जुट्यौं, ’नवजीनको इतिहास स्मरण गर्दै प्रदेश प्रमुख देवकोटाले सुनाए, ‘यो हाम्रा सहकार्यले बालक निको भए, उनका बाबु भेटिए अनि आँखाभरी आँसु झार्दै ती बाबुले आफ्नो छोरालाई नयाँ जीवन दिएकोमा धन्यवाद दिए । एकताले सकारात्मक परिणाम ल्याउन सकिन्छ भन्ने कुरामा हामीलाई थप हौसला प्राप्त भयो र हामी एउटा यस्तै संस्थाको परिकल्पनामा पुग्यौं । नयाँ जीवन प्राप्त गरेको त्यो बालकको समग्र घटनालाई प्रेरणाको रुपमा लिदै संस्थाको नाम नवजीवन राख्न पुग्यौं ।’
मानिसले सफलता देख्छन् र सफलतामा हातेमालो गर्छन् तर संघर्ष धेरैलाई थाहा नहुने भन्दै उनले एउटा बाँसको ‘मुना’ जमिनबाट निस्केर केही हप्तामै २०औं फिट अग्लो बाँस बन्न पुग्छ, तर त्यसको बिउ अर्थात् जरा पाँच वर्षसम्म जमिनमा माटोमुनि गडेको स्मरण गराए । उनले भने, ‘त्यो पाँच वर्षको राप, ताप र प्रयत्नलाई नजरअन्दाज गरेर जमिनमाथिको हर्लक्क बढेको बाँसको मात्र चर्चा गर्नु अन्याय हुन्छ जस्तो लाग्छ । साँच्चिकै नवजीवनको यो छवि स्थापनाकालपूर्व र स्थापनासगैंका ठोस अभियानका परिणाम हुन् जस्तो लाग्छ ।’
नवजीवन सहकारी संस्थाले सुदूर पश्चिम र लुम्बिनीका लाखौं जनतामा आर्थिक क्रियाशीलता अभिवृद्धि गरी जीवनस्तर उकास्न सफल भएको उनले बताए । उनले भने, ‘नवजीवन परिवर्तनको संवाहक हो र रहिरहनुपर्दछ । सहकारीको मूल्य, मान्यता र शिद्धान्तलाई सर्वोपरि राखेर अघि बढेको हुनाले नै इतिहासका कुनै कालखण्डले नवजीवनलाई बिचलित पारेको छैन ।’
सहकारीले वित्तीय साक्षरतामा अझै जोड दिएर आम समुदायलाई योसँग जोड्नुपर्नेमा उहाँले जोड दिए। त्यसैगरी, वित्तीय साक्षरतामा पनि सहकारीले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। ‘हामीले सबै कुरा पढाउँछौं तर पैसा बारे केही सिकाउन्नौं, प्रदेश प्रमुख देवकाटोले भने, ‘चाहिने पैसा सबैतिर तर त्यसैको बारेमा पढाई छैन । विद्यालय, विश्वविद्यालयका पाठ्यक्रममा वित्त सम्वन्धि विषयवस्तु अनिवार्य समावेश गरिनुपर्दछ । आर्थिक समृद्धिका लागि सकारात्मक सोंचाइले् मात्र नपुग्ने सकारात्मक कार्य आवश्यक पर्नेमा उनको जोड थियो ।