काठमाडौँ — कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले शनिबार राति राईलाई पक्राउ गरेको हो । कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले राईलाई उनको कपनस्थित घरबाटै पक्राउ गरेको बताए । ‘प्रहरी परिसर काठमाडौंलाई बुझाउँदै छौं,’ उनले भने, ‘राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।’
कांग्रेसकी केन्द्रीय सदस्य राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी २०७४ सालमा सहकारीको सहसचिव थिइन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन अभियोगमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध गत पुसमा ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो । स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएका थिए । अनुसन्धानका क्रममा भने स्वर्णलक्ष्मीका कुल ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ संगठित रूपमा ठगी भएको निष्कर्षसहित अभियोजन गरिएको थियो ।
मुद्दा अभियोजन हुँदा मुख्य अभियुक्त जीबी राईसहित ३४ जना फरार थिए । स्वर्णलक्ष्मीबाट सेयरधनी, विभिन्न नाफामुखी कम्पनी र अनधिकृत व्यक्तिसम्मले विभिन्न मितिमा गैरकानुनी रूपमा रकम लगेर अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । त्यतिबेला राईलाई भने प्रतिवादी बनाइएको थिएन ।
पछि सरकारी वकिलको कार्यालयले उनीमाथि अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । राई १४ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो । यस्तै, अर्का अभियुक्त जोशीलाई पनि ५० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।