अछाम । एमाले सुदूरपश्चिम इञ्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्ट अछाम आइपुगेका छन् । शनिबारबाट सुरु हुने नेकपा एमाले अछामको ९औं जिल्ला अधिवेशनको उद्घाटन गर्न उनी शुक्रबार दिउँसो अछाम आइपुगेका हुन् । लेखराज काठमाडौंबाट सुर्खेत हुँदै आज अछाम आइपुगेको नेकपा एमाले अछामले जनाएको छ । उनीसँगै एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्द र पार्टी निर्वाचन आयोगका प्रमुख डा. बिजय सुब्बा पनि अछाम आएका छन् ।
उनीहरुलाई नेता डिबी साउँद लगायतका नेताहरुले अछाममा स्वागत गरेका छन् । सुदूरपश्चिम प्रदेशका अन्य आठ जिल्लामा अधिवेशन सम्पन्न भइसके पनि अछाममा केन्द्रमा देखिएको विवादका कारण अधिवेशन समयमै रोकिएको थियो । तर पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलमाथि भएको कारबाहीपछि अन्ततः अछाममा अधिवेशन हुन लागेको हो । जिल्ला अध्यक्ष पदका लागि सात नेताहरूको नाम चर्चामा आएको छ भने आकांक्षी संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । सबैको ध्यान यतिबेला एमाले अछामको अधिवेशनमा छ ।