अछाम । नेकपा एमाले अछामको ९औं जिल्ला अधिवेशन भोलिदेखि जिल्ला सदरमुकाम मंगलसेनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन एमाले सुदूरपश्चिम इञ्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टले गर्ने भएका हुन् । उनी आजै अछाम आइपुग्ने कार्यतालिका रहेको छ । लेखराज काठमाडौंबाट सुर्खेत हुँदै आज अछाम आइपुग्ने छन् । वैशाख १३ देखि १५ गतेसम्म चल्ले अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।
हालसम्म अध्यक्षका लागि वर्तमान अध्यक्ष चन्द्र बहादुर वोहरा, सचिव भीम रावल (कालोटोपी), डिबी साउद, शिवप्रसाद उपाध्याय, बमबहादुर विसी र तिलक कुँवर प्रमुख दाबेदार छन् । यद्यपि आकांक्षीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयनका प्रयास भइरहेका छन् । जिल्ला अधिवेशनका लागि चार सय जना प्रतिनिधि छानिएका छन् ।
सुदूरपश्चिम प्रदेशका अन्य आठ जिल्लामा अधिवेशन सम्पन्न भइसके पनि अछाममा केन्द्रमा देखिएको विवादका कारण अधिवेशन समयमै हुन सकेको थिएन । पार्टीका पूर्व उपाध्यक्ष डा। भीम रावलमाथि भएको कारबाहीपछि अन्ततः पहिलोपटक अछाममा अधिवेशन हुन लागेको हो ।