धनगढी: ‘तड्पेला यो मुटु सास फेर्न मुस्किल होला, तड्पेला यो मुटु ।
कसो गरी छुटूँ ,गलिका परानी मेरा कसो गरी छुटूँ ।
सँगै लैजा मलाई त्यति माया मान्ने भए सँगै लैजा मलाई ।
मुटु जलाई जलाई म एक्ली कसरी रौला मुटु जलाई जलाई ’’
यो शब्द हो गायिका पशुपति खनालको ‘सँगै लैजा मलाई’ बोलको देउडा गीतको । सुरिलो र जादुमय स्वरका कारण देउडा गायिका पशुपति यतिबेला चर्चामा छिन् । साङ्गीतिक क्षेत्रमा लामो सङ्घर्ष गरेकी पशुपतिलाई नचिन्ने देउडाप्रेमी निकै कम छन् । गायिका खनालले दुई दर्जनभन्दा बढी देउडा गीतमा स्वर दिइसकेकी छिन् भने तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । ‘सँगै लैजा मलाई’, ‘मदनकी मनाङ’, ‘साइकि प्यारी’, ‘म अभागी’लगायतका गीत चर्चामा छन् ।
अनि बनिन् गायिका…
अछाम साँफेबगरकी पशुपतिले साङ्गीतिक माहोलले भरिपूर्ण परिवारमा जन्म लिइन् । उनकी आमा देउडा गाइरहन्थिन् । उनका दाजुले गजल लेख्थे भने अन्य दिदीहरूले पनि गीत गुनगुनाइरहन्थे । सात दिदीभाइमध्ये पशुपति पनि बाल्यकालबाटै गाउन र नाँच्न खुब मन पराउँथिन् । विद्यालय र गाउँघरमा हुने कार्यक्रमहरूमा नाँच्न–गाउन उनी अग्र पङ्क्तिमा हुन्थिन् । ब्राह्मण परिवारमा जन्मिएकी पशुपतिलाई त्यतिबेला कला क्षेत्रमा लाग्न त्यति सहज थिएन । सायद कला र गला भएता पनि उनले आफूभित्रको प्रतिभा बाहिरी रुपमा खुलेरै प्रस्तुत गर्न सकिरहेकी थिइनन् । वा भनौँ उनलाई सांस्कृतिक कार्यक्रमहरूमा गीत गाउन–नाच्न घरपरिवारबाट अनुमति थिएन । नाच्ने–गाउने काम ब्राह्मण वर्गको गर्नुहुँदैन भन्ने सुदूरपश्चिमबासीको सङ्कीर्ण सोच रहेकाले उनलाई कार्यक्रमहरूमा भाग लिन दिइँदैनथ्यो । तर पशुपति भने बेला मौकाको सदुपयोग गर्दै विभिन्न सांस्कृतिक कार्यक्रममा भाग लिइरहन्थिन् । गीत गाउन मन पराउने उनले धनगढीमा सुप (सुदूरपश्चिम) आइडल भइरहेको जानकारी पाइन् । ’आइडलमा भाग लिनका लागि घरबाट आउन दिने कुरा थिएन । त्यसैले स्कूलबाट सहभागिता गराउँदै छन् भनेर मैले घरमा कुरा राखेँ । यसपछि आमाबुवाले पनि मलाई जान दिनुभयो । सुप आइडलमा म टप टेनभित्र पर्न सफल भएँ । गाउँभरि मेरो चर्चा भयो । मैले हौसला पाउँदै गएँ,’ उनले भनिन् ।
सुप आइडलमा पशुपति टप टेनभित्र परेपछि उनको कलाकारिताको चर्चा गाउँघरदेखि शहर–बजार जताततै हुन थाल्यो । उनको छिमेकी गाउँमा रहेका वीरेन्द्र वड साङ्गीतिक क्षेत्रमै थिए । पशुपतिको गायन कलाबाट प्रभावित भएका उनले गीत रेकर्डिङका लागि काठमाडौं लैजाने मनसाय बनाए । ’वीरेन्द्र दाइले मेरो घरमै आएर बुवालाई सम्झाउनुभयो । बहिनीको आवाज धेरै राम्रो छ । साङ्गीतिक क्षेत्रमा उसको भविष्य देखेको छु । उसको आवाजमा गीत रेकर्ड गर्नका लागि बहिनीलाई काठमाडौं पठाइदिनुस् । गीत रेकर्ड गराउने जिम्मा मेरो भयो भन्दै उहाँले सम्झाएपछि बुवा पनि मलाई काठमाडौं पठाउन तयार हुनुभयो । संयोगवश मेरो दाइ पनि त्यतिखेर काठमाडौंमै हुनुहुन्थ्यो,’ पशुपतिले विगत सम्झिइन् ।
साङ्केतिक क्षेत्रमा पाइला चाल्दै गरेकी पशुपतिले काठमाडौंमा गएर ‘सँगैसँगै तिमीसँगै मेरो भाग्य देखाइदेऊ’ बोलको गीत रेकर्ड गरिन् । एउटा गीत रेकर्ड गर्न काठमाडौं आएकी पशुपतिलाई अर्को पनि रेकर्ड गर्ने मौका जुर्यो । उनका दाइ कृष्ण खनालले लेखेको ‘यो मन खाने काले’ बोलको गीत पनि पशुपतिकै आवाजमा रेकर्ड भयो । गीत रेकर्डिङपछि पशुपति पुन अछाम फर्किन् । केही समय गाउँघरमै बिताइन् । अब उनले करियरको एउटा पाटो समातिसकेकी थिइन् । कलाकार बन्ने उनको सपना साकार बन्दै थियो । त्यसका लागि पनि पशुपतिलाई काठमाडौं नै कर्मथलो बनाउनुपर्ने बाध्यता थियो । फलस्वरुप केही समयपछि उनी काठमाडौंमै बस्ने गरी अछामबाट हिँडिन् । अधिकांश नेपालीको सपनाको शहर काठमाडौंमा उनले सङ्घर्ष गर्न थालिन् ।
रेखाको त्यो साथ, लुडो खेल्दा शुरू भयो प्यार !
साङ्गीतिक क्षेत्रमा गायिका रेखा जोशीले नाम कमाइसकेकी थिइन् । उनले थुप्रै चर्चित गीत बजारमा ल्याइसकेकी थिइन् । गायनमा भविष्य खोजिरहेकी पशुपतिले गायिका रेखासँग रुम पार्टनर भएर बस्ने अवसर पाइन् । रेखासँग दुई वर्ष कीर्तिपुरमा सँगै बसेकी पशुपतिले म्युजिक भिडियोमा पनि अभिनय गर्ने अवसर पाइन् । पशुपति गायनसँगै अभिनय कलामा पनि पोख्त थिइन् । रेखाले पशुपतिलाई म्युजिक भिडियोको सुटिङ हेर्न लगिन् ।
त्यही क्रममा गायिका शोभा थापाको नजर पशुपतितिर पर्यो । उनले म्युजिक भिडियोका लागि अवसर दिइन् । ’रेखा दिदीसँगको साथ मेरा लागि स्मरणीय छ । अविस्मरणीय छ । उहाँबाट धेरै कुरा सिक्न पाएँ, हौसला अनि प्रेरणा पनि लिएँ । हामी खुब मिल्थ्यौँ । दिदीले मलाई धेरै माया गर्नुहुन्थ्यो । झण्डै दुई वर्ष हामी सँगै बस्यौँ,’ पशुपति भन्छिन्, ‘त्यसपछि उहाँकी बहिनी आएपछि र मेरो विवाह भएपछि हामी अलग–अलग बस्न थालेका छौँ । दिदीले साथ सहयोग अहिले पनि गरिरहनुभएको छ ।’
गायिका पशुपतिसँग स्मरणीय क्षण थुप्रै छन् । साङ्गीतिक क्षेत्रमा सङ्घर्ष गरिरहेका बेला बजारमा चल्न नसक्नु उनका लागि दुःखद पक्ष थियो । एक दर्जन गीत गाइसक्दा पनि गायिका पशुपति भनेर चिनिएकी थिइनन् । उनका अङ्कल महेन्द्र खनालले फेसबूकमा सन्तोष जैसीलाई जन्मदिनको शुभकामना दिए । पशुपतिले पनि उनलाई म्यासेन्जरमार्फत शुभकामना दिइन् । अनि उनी र सन्तोषबीच कुराकानी हुन थाल्यो । ‘मैले अलि चाँडै रिप्लाई फर्काउन थालेँ । त्यहीबाट हामीहरूको संवाद शुरू भयो,’ पशुपति सम्झिन्छिन् । त्यो समयमा पशुपति र रेखा र सन्तोष मिलेर अनलाइन लुडो खेल्थे । लुडो खेल्दा खेल्दै पशुपतिको ती युवासँग प्रेम शुरू भएको थियो । यो कुरा पशुपतिले रेखालाई पनि सुनाइन् ।
रेखाले पनि केटाबारे सकारात्मक प्रतिक्रिया दिइन् । त्यो समयमा सन्तोष दुबईमा थिए । सामाजिक सञ्जालबाटै शुरू भएको सम्बन्ध विवाह गर्नेसम्म पुग्यो । पशुपतिलाई माग्न सन्तोषको परिवार घरमै आए । वार्ता सकारात्मक उनीहरूको सम्बन्ध विवाहमा परिणत भयो । विवाहपछि पनि पशुपति गायन क्षेत्रबाट चर्चामा आउन सकेको थिइनन् ।
‘सँगै लैजा मलाई’ले एकाएक चर्चामा
साङ्गीतिक क्षेत्रमा पाइला चालेको ५–६ वर्षसम्म पनि चिनिन नसकेपछि पशुपतिलाई उनका शुभचिन्तकहरूले हराउँदै गएको संज्ञा दिन्थे । उनले गाएका गीतहरू पनि हिट हुन सकिरहेका थिएनन् । विवाहको केही समयपछि श्रीमानको पनि वैदेशिक रोजगारीका लागि जाने तयारी भइरहेको थियो । पशुपतिकी आमा देउडा गाउन र शब्द मिलाउन पोख्त थिइन् । आफ्नै जीवनमा भोगिरहेका विषय आमालाई बताउँदै पशुपतिले यही अवस्थाको गीत बनाइदिन आग्रह गरिन् । उनकी आमाले ‘लैजा मलाई’ बोलको गीत तयार गरिन् । पशुपति लगायत सबैलाई त्यो गीत खुबै मनपर्यो । पशुपतिले आफ्नै लगानीमा त्यो गीत तयार गरिन् । त्यो टिकटकमा भाइरल बन्यो । २० हजारभन्दा बढी टिकटकर त्यो गीतसँग जोडिए । ‘सबैको मन–मनमा गीत बस्न सफल भयो । मलाई पनि पशुपति खनाल भनेर यही गीतले चिनायो । यसले मलाई निकै खुसी मिल्यो,’ उनी भन्छिन्, ‘म्युजिक भिडियोमा पनि श्रीमान् र मैले नै अभिनय गर्यौँ । यो गीतसँग मेरा धेरै भावना जोडिएका छन् ।’
‘सँगै लैजा मलाई’ बोलको गीतबाट सफलता पाएपछि पशुपतिले ‘साइको मेरो यात्रा हुनु रानी चडा’ बोलको गीत निकालिन् । त्यो गीतले पनि सफलता पायो । देउडाप्रेमीहरूले त्यो गीतलाई निकै रुचाए ।
एकपछि अर्को सफलता मिल्दै गएपछि विभिन्न क्षेत्रबाट पशुपतिलाई अवसरहरू मिलिरहेका थिए । त्यही क्रममा बझाङका दीपक सङ्गम बीसीले ‘मदनकी मुना साइकी प्यारी म अभागी’ बोलको गीत गाइदिनका लागि आग्रह गरे । ’यो गीतले पनि साङ्गीतिक क्षेत्रमा एउटा तरङ्ग नै ल्यायो । सबैको मन–मनमा बस्न सफल भयो । यसमा मेरा श्रीमान् सन्तोष र सुस्मिता कुँवरले अभिनय गर्नुभएको छ । धेरै चलेको गीतमध्ये यो गीत एक हो । यसको म्युजिक भिडियो पनि धेरै राम्रो छ,’ उनले थपिन् ।
पाँच वर्ष गायन क्षेत्रमा सङ्घर्ष गरेर पनि आफूलाई चिनाउन नसकेकी पशुपतिले पछिल्लो समय भने केही उत्कृष्ट गीतबाट साङ्गीतिक दुनियाँमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भइसकेकी छिन् । अहिले उनलाई नचिन्ने देउडाका दर्शक श्रोता निकै कम छन् ।
एउटै ध्येयः देउडा संरक्षण
पछिल्लो समय हराउँदै गएको देउडा गीत संरक्षणमा गायिका पशुपतिले योगदान दिइरहेकी छिन् । हालसम्म उनले दुई दर्जनभन्दा बढी देउडा गीतमा आवाज दिइसकेकी छिन् । आगामी दिनमा पनि देउडा गीत सङ्गीतमै सङ्घर्ष गर्ने उनको ध्येय छ । प्लस टू लेभलमा आम सञ्चार (मास कम्युनिकेसन) अध्ययन गरेकी पशुपति अहिले भने रत्नराज्य लक्ष्मी कलेजमा सङ्गीत विषय लिएर पढिरेहकी छिन् । उनले एसएलसी दिएलगत्तै अछामस्थित रेडियो बान्नीगढी पनि केही समय काम गरेकी थिइन् । झण्डै आठ महिना रेडियोमा बिताएकी पशुपतिले मिडिया क्षेत्रमा सोचेजति सफलता पाउन नसकेपछि साङ्केतिक क्षेत्र तिरै पाइला मोडेकी थिइन् । ’एसईईपछि मैले रेडियोमा काम गर्ने अवसर पाएँ । कार्यक्रम चलाउनेदेखि समाचार वाचिका, मार्केटिङलगायत सबै कुराको ज्ञान रेडियोबाट लिएँ । सञ्चार क्षेत्रमा सोचेजस्तो भविष्य नदेखेपछि मैले साङ्गीतिक क्षेत्र नै रोजे अहिले पनि यसै क्षेत्रमा सङ्घर्ष गर्दैछु,’ उनी भन्छिन् ।
देउडा संस्कृति कला सभ्यता संरक्षणका लागि उनले सक्दो प्रयास गरिरहेकी छिन् । देउडा गीतमा उनी संख्यालाई भन्दा गुणस्तरलाई जोड दिन थालेकी छिन् उनी । उनले नै तयार गरेका सातभन्दा बढी गीत बजारमा आउने तयारीमा छन् । ’देउडा हाम्रो सभ्यता हो । जननी हो । यसको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । यदि हामीले देउडा गीत गाएनौँ भने अब आउने पुस्ताले यसको महत्वबारे थाहा पाउँदैनन् । अझ भनौं देउडा भनेको के हो भन्नेसम्म बुझ्दैनन्,’ दार्शनिक पारामा उनी भन्छिन्, ‘यसको संरक्षणका लागि हामी सबैले आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्छ । अहिलेका युवा पुस्ताले देउडामा पनि मोडरेट खोजिरहनुभएको छ । सबै सुहाउँदो प्रस्तुति पस्किन कलाकारहरूले प्रयास गरिरहेका छौँ ।’