धनगढी: कैलालीको चुरे गाउँपालिका–४ गर्भामा नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको हस्तान्तरण तथा उद्घाटन गरिएको छ। चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी र उपाध्यक्ष धनादेवी थापाले गर्भा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरेका हुन्। २०८१साउन १८ गतेबाट सुरु भएको स्वास्थ्य केन्द्रको भवन २०८२ वैशाख १० गते हस्तान्तरण गरिएको हो। एक करोड ११ लाख ९८ हजार नौ सय ८९ लागत रहेको भवनबाट गाउँपालिकाले स्वास्थ्य उपचार सेवा प्रवाह सुरु गरेको हो।
चुरे गाउँपालिकाले नयाँ भवनको निर्माणसँगै गर्भा क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको गुणस्तरमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ। आम्दा माइन्ड्सका कार्यक्रम संयोजक प्रदिपराज पन्त, फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर वस्नेत र चुरे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र बिष्ट लगायतको सहभागितामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको हो।
जापान सरकार, परराष्ट्र मन्त्रालयको आर्थिक सहयोग, आम्दा माईन्डसको नेतृत्व र फाया नेपालको व्यवस्थापनमा सम्पन्न गरिएको बताइएको छ। परियोजना मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रबद्र्धन अन्तर्गत सञ्चालनमा आएको हो। चुरे गाउँपालिकाको समन्वयमा फाया नेपालले कार्यक्रम कार्यान्वयन गरिएको छ।