धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको टोली भारत भ्रमणमा जाने भएको छ । आगामी १६ गतेदेखि २२ गतेसम्म मुख्यमन्त्री नेतृत्वमा १० सदस्यीय टोली भारत जान लागेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयको व्यवस्थापनमा मुख्यमन्त्रीसहितको टोली भारत भ्रमणमा जान लागेको हो ।
उक्त टोलीमा सरकारका तर्फबाट मुख्यमन्त्री शाहसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा छन् । कांग्रेस र एमालेका मुख्यमन्त्री र मन्त्री परेको टोलीमा माओवादी केन्द्रबाट झपट साउद, नागरिक उन्मुक्ति पार्टीबाट घनश्याम चौधरी र नेकपा एकीकृत समाजवादीबाट नरेश बहादुर शाही छन् । मुख्यमन्त्रीसँग उनका राजनीतिक सल्लाहकार डा।जितु उपाध्याय र उनका स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा छन् । प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर विष्ट, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव पनि भ्रमण टोलीमा छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले २५ जनको टोलीलाई भारत भ्रमणमा लैजाने तयारी गरेको थियो । तर, दूतावासले १० जनाको मात्रै नाम स्वीकृत गरेपछि मुख्यमन्त्री शाहसहित १० जना भारत जाने भएका हुन् ।
‘२५ जना लैजाँदा उपयुक्त हुन्छ भनेर हामीले प्रस्ताव गरेका थियौँ । त्यसमा सबै पक्षको सहभागिता हुने थियो । तर, दूतावासले १० जनाको मात्रै व्यवस्थापन गर्न सक्ने भनेपछि सबै दल समेटिने गरि १० जनाको नाम उपलब्ध गराइएको हो’ मुख्यमन्त्रीका राजनीतिक सल्लाकार डा। उपाध्यायले जानकारी दिए ।
उनका अनुसार भारत भ्रमणका क्रममा कृषि ,पर्यटन र ऊर्जाको विषयमा छलफल र संवाद हुने छ । मुख्यमन्त्रीले केही दिन पहिले मात्रै मन्त्रिपरिषद् बैठकमा भारत भ्रमणबारे औपचारिक जानकारी दिएका थिए । तर, अहिलेसम्म पनि भारतका कुन कुन ठाउँमा टोलीले भ्रमण गर्ने र को कोसँग छलफल वा भेटघाट गर्ने भन्ने बारे टुङ्गो लागेको छैन ।