काठमाडौँ — धनगढी एफसी एकाएक लय गुमाएको टिम हो । धनगढीले यसअघि लगातार दुई खेल गुमाएकै थिएन, यसपल्ट टिम यही स्थितिमा छ । अझ टोलीले खेलेका पछिल्ला ६ खेलमा २ जितमात्रै छ । क्वालिफायर–वानमा ललितपुर सिटी एफसीसँग बेहोरेको हारको घाउ अझै ताजै छ । पोखरा थन्डर्स भने एक्कासि लय समातेको टिम हो । पछिल्ला ५ खेलमा अपराजित पोखराले त्यसमध्ये एकमा मात्र गोल खाएको छ । अरू सबै ‘क्लिन सिट’ छ । यिनै दुई फरक बाटो तय गरेका धनगढी र पोखरा बुधबार क्वालिफायर–टुमा भिड्दै छन् । यस जितको अर्थ हो, नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश ।
त्यहाँ त्यो टोलीलाई पर्खिरहेको हुनेछ डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी । कम्तीमा कागजमा अझै पनि धनगढी नै बलियो छ । तर टोलीको सबैभन्दा खराव पक्ष हो, यसले निर्णायक मोडमा साँच्चै ‘मोमेन्टम’ गुमाएको छ । धनगढीका प्रशिक्षक हुन्, हुँवा म्यानुयल मार्टिनेज । सम्भवतः उनको एउटा रणनीति खराब साबित भएको छ । यो हो, लिग चरणको आफ्नो अन्तिम खेलमा एफसी चितवनविरुद्ध दोस्रो रोजाइका खेलाडी उतार्नु । धनगढीको लक्ष्य लिग चरणमा अपराजित रहनु नै हुनुपर्ने थियो । तर मार्टिनेजले दाउ खेले आफ्ना केही प्रमुख खेलाडीलाई आराम दिने । चितवनविरुद्धको हारबाट उम्कन नसकेको धनगढी अन्ततः ललितपुरसँग नमज्जाले पराजित रह्यो । यो तथ्यमा प्रशिक्षक आफैं पनि सहमत हुनुपर्नेछ ।
त्यसैले उनले भनेका छन्, ‘फाइनल पुग्न हामीले कठिन बाटो रोज्यौं ।’ धनगढीका लागि लगातार तेस्रो हार स्वीकार्य हुने छैन । त्यसैले यी प्रशिक्षकमाथि चुनौती हुनेछ, धनगढीका सबै खेलाडीलाई एकजुट राख्ने र लगातार तेस्रोपल्ट फाइनल प्रवेशलाई प्रेरित गर्ने । नत्र, धनगढी टिम आफैंमा के नै खराब छ र रु टिम राम्रो छ, प्रमुख खेलाडी लेवनानी अहमद हिजाजीको खेल हेरेर प्रतिद्वन्द्वी सबै चनाखो हुन बाध्य हुन्छन् । र, यिनै हिजाजी फेरि एकपल्ट धनगढीका लागि बिगार्ने वा सपार्ने दुवै खेलाडी हुन सक्छन् । कप्तान देवेन्द्र तामाङ पछिल्लो पटक मिडियासामु प्रस्तुत हुँदा केही निरास देखिए । अनुहार मलिन थियो । तर, उनले यति दाबी गर्न चुकेनन्, ‘हाम्रो लक्ष्य अझै पनि उपाधि नै हो ।’ यस्तै दाबी त अब पोखराले पनि गर्न थालेको छ । पोखराका प्रशिक्षक सुमन श्रेष्ठले विना योजना फ्याट्ट दाबी गरिसकेका छन्, ‘अब त हाम्रो पनि लक्ष्य हो उपाधि जित्ने ।’ लय, खुसी, उत्साह, बदलाको भावना जे जस्ता शब्द छन्, ती सबै अहिले पोखरा टिमसँग छ ।
पछिल्ला ५ खेलमध्ये तीनमा विजयी पोखराले चितवनमाथि इलिमिनेटरमा जुन जित हात परेको छ, यो आफैंमा अझ राम्रो खेल्न प्रेरित गर्ने खालको छ । सायद केही हदसम्म पोखरासँग धनगढीका जस्ता स्टार खेलाडीहरू छैनन् । भए पनि अलिकति कम्तीकै छन् । तर, टिम एक ढिक्का देखिन्छ । लिग चरणमा सुरुका दुई खेल गुमाएर जसरी पोखराले पुनरागमन गरेको छ, त्यो प्रशंसायोग्य छ । टिम आफैंमा विद्रोही पाराको छ भन्दा हुन्छ, यससँग जोडिएको व्यवस्थापकीय पक्षलाई लिएर । यो टिमलाई पर्दा अगाडि र पछाडिबाट जे जतिले हेरिरहेका छन्, ती नेपाली फुटबलमा उति साह्रो लोकप्रिय छैनन् । तिनैले कडा मिहिनेत गरेर पोखरालाई यहाँसम्म पुर्याएका छन् । यसलाई पनि प्रशंसा गर्नुपर्छ नै । उनीहरूमा प्रस्ट ‘जुनुन’ देख्न पाइन्छ । यही एक तत्त्व हो, जसलाई धनगढीले कम आँक्न मिल्दैन । आफ्नो काममा प्रशिक्षक श्रेष्ठ कति धेरै तल्लीन छन् भने उनको अनुहारबाट हाँसो नै हराइसकेको छ, जहिल्यै गम्भीर देखिन्छन् ।
सम्भवतः उनी अलिकति बढी नै थाकेका छन् । तथापि उनको लगन र समर्पणमा प्रश्न गर्ने कुनै ठाउँ छैन । चितवनविरुद्धको उनीहरू ‘इलिमिनेटर’ जित आफैंमा साँच्च सानदार रह्यो । टोलीको त्यस ३–० जितमा घानाका जोए आइडुले दुई गोल गरेका छन् । उनले खेलमा तेस्रोपल्ट गरेको गोल संयोगले यस सिजनकै ५० गोल रह्यो । त्यतिबेला उनी दुई हात फैलाएर अनौठो भाव देखाउँदै टक्क उभिएका थिए । सायद उनको आशय थियो, ‘पोखराका लागि त म छु नि ।’ यी त भए भावनात्मक कुरा । तथ्यांक आधार मान्ने हो भने धनगढीले एनएसएलमा तीनपल्ट प्लेअफ खेलेको छ, त्यसमध्ये दुई जित र एक हार छ । हारको नतिजा पछिल्लो नै हो । चितवनले पनि तीनपल्ट प्लेअफमा खेलेको छ, त्यसमध्ये एक जित र दुई हार छ । यसमा भने जितको नतिजा पछिल्लो हो । यो नै ‘क्वालिफायर–टु’ को सबैभन्दा ठूलो विशेषता हो । धनगढी र पोखरा अहिलेसम्म प्लेअफमा एक आपसविरुद्ध भिडेका छैनन् ।
लिग चरणमा उनीहरूको तीन सिजन गरेर तीनपल्ट भेट भएको छ । त्यसमध्ये सुरुमै एकपल्ट धनगढीले जितेको थियो । त्यसपछि दुई खेल बराबरीमा टुंगिएको छ । त्यस अर्थमा दुवै टिमबीच भिन्नता खासै छैन । विश्वास गरौं, तेस्रो सिजनको क्वालिफायरले अब्बल दर्जाको खेल पस्कने छ । फेरि दुवै टिमका खेलाडीका लागि यो यस्तो अवसर हो, जसमा राम्रो खेलेर लिजेन्डरी ब्राजिली खेलाडी रोबर्टो कार्लोसको मन जित्न सकिनेछ ।
नेपाल सुपर लिग ९एनसएल० को क्वालिफायर–टुको एउटा ठूलो विशेषता हुनेछ । यस खेलका मुख्य पाहुना हुनेछन्, ब्राजिली रोबर्टो कार्लोस । विश्व फुटबल इतिहासकै सर्वकालीन ‘लिजेन्ड’ खेलाडी कार्लोस बुधबारको त्यो खेल हेर्न दशरथ रंगशाला पुग्नेछन् । यिनै खेलाडी मंगलबार बिहान काठमाडौं आइपुगेका थिए ।
दिल्ली डायनामोसको प्रशिक्षकका रूपमा एक सिजन बिताएका कार्लोसले भारत बसाइकै क्रममा नेपाल र यहाँको फुटबलबारे केही न केही सुनेका रहेछन् । अनि नेपालमा ब्राजिली फुटबल समर्थक उत्तिकै रहेको सुन्दा खुसी देखिएका ५२ वर्षीय कार्लोसले भने, ‘उहाँहरूप्रति मलाई गर्व छ, धन्यवाद भन्न चाहन्छु ।’ एनएसएलको सफलताको शुभकामना व्यक्त गर्दै उनले सबै फुटबल खेलाडीलाई सन्देश दिन चाहे, ‘माथिल्लो स्तरसम्म पुग्ने एकमात्र सूत्र भनेको कडा मिहिनेत नै हो, यो भन्दा अर्को बाटो हुन्न ।’
जहाँ कार्लोस, त्यहाँ उनले सन् १९९७ मा प्रहार गरेको फ्रिकिबारे चर्चा नहुने त कुरै भएन । त्यसैबारे उनले फेरि भन्न चाहे, ‘यो त जादुयी गोल थियो । यसमा मेरो केही मिहिनेत पनि थियो । सबथोक मिलेको थियो, त्यो फ्रिकिकमा ।’कार्लोसले सन् १९९६ देखि २००७ सम्म स्पेनको रियल म्याड्रिडमा थिए । उनीसम्मिलित टिम जत्तिको अर्को महान टिम हुन्न भनिन्छ । खेलको भाषामा उनको समयको रियल टिम थियो ‘ग्यालाक्टिको’ । त्यतिबेला उनका समकालीन खेलाडीको नाम सुन्दा पनि यो टिम साँच्चै कसरी पो बनाइएको थियो भन्ने हुन्छ ।
‘मैले रियल छाडेको पनि १८ वर्ष भइसक्यो । त्यो आफैंमा साँच्चै महान थियो र त्यति बेला बिताएका प्रत्येक क्षण मेरो लागि अमूल्य छन्,’ कार्लोसले भने । त्यतिबेला उनका साथीहरू थिए लुइस फिगो, जिनेदिन जिदान, रोनाल्डो, डेबिड बेकह्याम, माइकल ओवेन, रोबिन्हो, फाबियो कानोभारा र रुड भान निस्टलरोय । अनि फर्नान्डो हिएरो, राउल, गुटी, फर्नान्डो मोरियन्टेस र माइकल साल्गाडोदेखि इकर कासिलाससम्म ।