बझाङ — उच्च शिक्षाको गुणस्तर सुधारको लागि बझाङको जयपृथ्वी क्याम्पसले राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सम्मेलनमा उच्च शिक्षाको गुणस्तर सुधारका लागि गहन छलफल र बहस गरिने छ । नेपालका विभिन्न विश्वविद्यालयका प्राज्ञ, विषय विज्ञ, शिक्षक, अनुसन्धाता, विद्यार्थी र जनप्रतिनिधि लगायतको उपस्थितीमा हुने उक्त सम्मेलन दुई दिनसम्म चल्ने आयोजक जयपृथ्वी क्याम्पसले जानकारी दिएको छ । विभिन्न विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल, अन्तरक्रियाजस्ता गतिविधिमार्फत राष्ट्रिय सम्मेलनमा उच्च शिक्षाको वर्तमान अवस्था, अवसर र चुनौतीहरुको खोजी गरिने आयोजकले जनाएको छ ।
उच्च शिक्षाको गुणस्तर खस्किँदै जाँदा यसको सोझो असर समाजको विकास, समृद्धि तथा रुपान्तरणका क्षेत्रमा परिरहेको देखिन्छ । यद्यपि यस्तो किन भइरहेको छ भनेर गहन छलफल र बहस जति हुनुपर्ने हो त्यो हुन सकेको छैन सम्मेलन आयोजक समितिका संयोजक समेत रहेका जयपृथ्वी क्याम्पसका सहायक क्याम्पस प्रमुख लालबहादुर बोहराले भने, ‘बझाङजस्ता जिल्लाहरुमा यस्तो बहसको अझ बढी आवश्यकता रहेकोले लामो समयको तयारी पछि हामी राष्ट्रिय सम्मेलन आयोजना गर्ने अवस्थामा पुगेका छौँ । उनले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरबाहेक यस प्रदेशका अन्य जिल्लामा हाल सम्म यस्ता सम्मेलन हुन नसकेको बताउँदै बझाङमा यस्तो सम्मेलन आयोजना गर्दा अरु जिल्लामा पनि यसको सन्देश जाने दाबी गरे ।
२०३८ सालमा स्थापना भएको बझाङको पहिलो जयपृथ्वी क्याम्पसले २०८१ चैत्रमा सुदूरपश्चिम विश्वविद्यालयको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशभरका २४ वटा क्याम्पसका प्राध्यापक, शिक्षक तथा अनुसन्धानधाताको सहभागितामा दुई दिने प्राज्ञिक कार्यशाला सम्पन्न गरिसकेको छ । विश्वविद्यालय अनुदान आयोग, बझाङका स्थानीय तह, प्रदेश स्थित मन्त्रालय, कूटनीतिक निकाय, सुदूरपश्चिम विश्वविद्यालय, जिल्ला स्थित उद्योग वाणिज्य तथा होटल व्यवसायी संघ आदीको सहयोग लिएर आगामी जेठ १३ र १४ गते सम्मेलनको आयोजना गर्न लागिएको क्याम्पस प्रमुख दीर्घराज पण्डितले जानकारी दिए ।
सम्मेलनमा विभिन्न विषयका दुई सयभन्दा बढी विषय विज्ञ, शिक्षक, अनुसन्धानधाता, जनप्रतिनिधि लगायतको उपस्थितिमा विज्ञान र प्रविधि, शिक्षा, मानविकी, भाषागत योजना, ग्रामीण विकास, उच्च शिक्षा प्रदायक शैक्षिक संस्था र संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य, आदि जस्ता बहु विधामा आधारित एक सयभन्दा बढी कार्यपत्र प्रस्तुति रहने उनले बताए । सम्मेलनपछि उच्च शिक्षाको गुणस्तर वृद्धि र समयानुकूल विकासको बारेमा बहस सिर्जना हुने उनको अपेक्षा छ ।