धनगढी । बैतडीमा अटो दुर्घटनामा घाइते भएर धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा धनगढीमा मृत्यु भएका २५ वर्षीय अन्तराम विष्टको शव उठाइएको छ । सिगास गाउँपालिका–९ बाजपानीका विष्टको परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
जयपृथ्वी राजमार्ग अन्तरगत ढोल्यामोडमा ३० चैतमा सुपप्र०१००१ह ६५७९ नम्बरको अटो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका २५ वर्षका विष्टको उपचारका क्रममा शुक्रबार दिउँसो मृत्यु भएको थियो । मृतकका श्रीमती, ४ वर्षीया छोरी र ६ महिनाका छोरा छन् । दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय गम्भीर बोहरा र ५० वर्षीय हर्कबहादुर बोहरा पनि घाइते भएका थिए । उनीहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।
मृतक विष्टका परिवारले अटो चालक दिपक धानुकलाई कारवाहिको माग गर्दै किटानी जाहेरी दिएका छन् । यसअघि दुर्घटनाका बेला अर्का व्यक्तिले अटो चलाएको पीडित पक्षले आरोप लगाएको थियो ।