काठमाडौँ — काठमाडौंको पाशुपत क्षेत्रको विद्युतीय शवदाह गृह बाहिर अघिल्लो शुक्रबार बिहान विष्णुदेवी खड्का शोकाकुल थिइन् । आफन्त उनलाई सान्त्वना दिइरहेका थिए । साउदी अरबमा श्रमका लागि गएका श्रीमान् रामभक्तबहादुरको निधन भएपछि उक्त दिन सबेरै उनको शव बोकेको कफिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो । बाकसभित्र शव सग्लो अवस्थामा थिएन, बाँकी रहेको केही हाडखोरलाई यहाँ ल्याएर दाहसंस्कार गरिएको हो ।
हृदयाघात भई मृत्यु भएको एक महिनापछि रामभक्तबहादुरको शवलाई साउदीकै अस्पतालले रोजगारदाता कम्पनी, मृतकका परिवार वा नेपाली दूतावास कसैलाई पनि खबर नै नदिई गाडिदिएको (दफन) थियो । परिवार र नेपाली दूतावासको निकै ठूलो कसरतपछि दफन गरिएको तीन महिनापछि रामभक्त बहादुरको शव उत्खनन गरिएको हो । शवको थोरै हाडखोरबाहेक अधिकांश भाग सडिसकेको अवस्था थियो । रामभक्तको त्यही हाडखोर काठमाडौं झिकाएर परिवारले जलाएको हो । ‘उहाँको मृत्यु भएको खबर सुनेदेखि शव
आउने प्रतीक्षामा बसिरहेका थियौं । एक्कासि शव उतै दफन गरिदिएको भनेर दूतावासबाट खबर आयो । सुरुमा दफन भनेको त बुझेका पनि थिएनौं । पछि थाहा पाउँदा असह्य पीडा भयो,’ रामभक्तकी श्रीमती विष्णुदेवीले भनिन् । विष्णुदेवी श्रीमान्को अन्तिम पटक अनुहार हेर्न चाहन्थिन् । उनले गाडेको शव झिकेर भए पनि पठाइदिन कन्सुलर विभागमार्फत दूतावासलाई पत्र पठाइन् । ‘हामीले शव उत्खनन गरेर पठाइदिन दूतावासलाई पत्र पठायौं । कन्सुलर विभागमा गएर निवेदन दियौं । त्यसपछि दूतावासले पनि आज, भोलि गर्दै शव आउने भाका सार्दै गयो ।’ दूतावासले प्रस्ट जवाफ नदिई पहल भइरहेको मात्र जवाफ दिइरह्यो ।
दूतावाससँग हुने हरेक फोनमा शव आउने मिति सर्दै गयो । शव नै नआउने जस्तो भएपछि आफन्तको सल्लाहमा परिवारले मार्चको पहिलो साता कुशको शव बनाएर रामभक्तको अन्तिम काजकिरिया गर्यो । त्यसको एक महिनापछि शव उत्खनन हुने खबर परिवारले पायो । काजकिरिया नै भइसकेकाले शव पठाउन पर्दैन भन्ने जवाफ परिवारले पठायो ।
‘ठूलोबुवा, ममी, दिदी र म बसेर काजकिरिया गरेका थियौं,’ रामभक्तकी कान्छी छोरी रुद्रवीले कान्तिपुरसँग भनिन्, ‘सबै काम सकिएपछि अब शव पठाउनु पर्दैन भनेका थियौं । पछि उत्खनन भयो भनेर पठाइदिए ।’ रुद्रवीले बुवाको मृत्युको खबर पाएपछि पोर्चुगलमा भएकी दिदी पनि काजकिरियाका लागि आएर फर्किसकेको बताइन् ।
१६ वर्षदेखि साउदीको सुलेमन फलेह अन्जी कम्पनीका चालक रहेका ४९ वर्षीय रामभक्तको २०२४ नोभेम्बर १२ मा आफ्नै कोठामा हृदयाघात भई मृत्यु भएको थियो । साउदीको मेडिकल रिपोर्टमा भने मृत्युको कारणमा ‘प्राकृतिक’ लेखिएको छ । तर, विष्णुदेवीले कम्पनीको लापरबाहीले श्रीमान्को मृत्यु भएको दाबी गर्दै आएकी छन् । ‘उहाँ सुरुमा खुट्टा दुखेर नजिकैको क्लिनिकमा जँचाउन जानुभएको थियो । ठूलो अस्पताल लैजान कम्पनीले गाडी नपठाइदिएपछि साथीहरूले कोठामा ल्याए । कोठामा ल्याएको केही समयभित्र नै ढल्नुभएछ,’ विष्णुदेवीले भनिन् ।
कोठामा नै मृत्यु भएपछि एम्बुलेन्सबाट किङ साउद मेडिकल सिटी अस्पतालमा लगेर शव राखिएको थियो । यो अस्पताल रियादस्थित नेपाली दूतावास रहेको स्थानबाट करिब सय किलोमिटर दूरीमा पर्छ । दूतावासले शव पठाउने प्रक्रियाका लागि कम्पनी र अस्पताललाई सम्पर्क गर्यो । दूतावासले रामभक्तको शव पठाउन कम्पनीलाई अनुमति (एनओसी) जारी गरेको चार दिनपछि अर्थात् डिसेम्बर २७ मा अस्पतालले दफन गरेको खुलेको छ । कम्पनीले शव पठाउन कार्गो बुक गर्ने समयमा शवको खोजी गर्दा फेला नपरेपछि दफन गरिएकोबारे खुलेको थियो ।
साउदीका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले शव राखिएको अस्पताल र रोजगारदाता कम्पनी सुलेमन फलेह अन्जीबीच तोकिएको समयभित्र समन्वय नहुँदा रामभक्तको शव दफन भएको बताए । ‘मृतकको जिम्मेवारी लिने पक्ष ९स्पोन्सर० दुई साताभित्र अस्पतालको सम्पर्कमा गएन भने स्थानीय निकायको सिफारिसमा दफन गर्न पाउने कानुनी व्यवस्था छ । रामभक्तको रोजगारदाता अस्पतालको सम्पर्कमा नजाँदा शव दफन भयो,’ राजदूत ढकालले भने, ‘यो सवाललाई हामीले साउदी सरकारसमक्ष गम्भीरतापूर्वक उठायौं ।’
दूतावासको पहलमा दफन गरिएको शव तीन महिनापछि मार्च २७ मा उत्खनन गरिएको थियो । दफन भइसकेको शव उत्खनन गर्ने प्रक्रिया निकै जटिल रहेको राजदूत ढकालले बताए । ‘शव उत्खनन गर्न हामीलाई सबैभन्दा पहिला परिवारको पत्र चाहिएको थियो । परिवारले कन्सुलर विभागमार्फत पठाएको पत्र पायौं । त्यसअनुसार शव उत्खनन गर्न रियाद गभर्नरबाट अनुमति चाहिन्थ्यो । यसका लागि निकै मिहिनेत गर्नुपर्यो,’ उनले भने, ‘शव उत्खनन गर्न साउदीका चार तहबाट निर्णय भएपछि मात्रै सम्भव भयो । जसले गर्दा समय लाग्यो ।’कान्तिपुरबाट