दार्चुला — बैतडीको डिलासैनी गाउँपालिका–६ चम्तडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । डोगडाकेदार गाउँपालिका–४ को (कोपिन्डा) घर भएका २८ वर्षीय शिक्षक विष्णुदत्त भट्टको बसको ढोकाबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोरसिंह ऐरीका अनुसार शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा अवस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक भट्ट विद्यालयकै बसको ढोकाबाट खसेको र उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।
गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेबाट विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेका शिक्षक भट्ट चौलानी बोर्डिङ स्कुलमा गणित शिक्षकका रूपमा कार्यरत रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा चौलानी बोर्डिङका शिक्षक गोकर्ण पाठकले बताए ।