धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले आफू र पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई जोडेर सार्वजनिक भइरहेका कुराहरु भ्रामक भएको बताएका छन् ।प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिट ब्युरो सदस्य समेत रहेका रावलले शुक्रबार एक वक्तव्य जारी गर्दै भट्टको कठालो समातेर दुर्व्यवहार गरेको भन्दै सार्वजनिक भएका कुरा भ्रामक र कपोकल्पीत भएको दाबी गरेका छन् । उनले पार्टी सचिव भट्टप्रती व्यक्तिगत रुपमा श्रद्धा र सम्मान रहेको बताउँदै सिङ्गो पार्टी पंक्तिलाई बदनामित गर्नेगरि भइरहेका क्रियाकलापप्रती खेट व्यक्त गरेका छन् ।
‘क. लेखराज भट्टप्रती मेरो व्यक्तिगत रुपमा श्रद्धा र सम्मान छ । उहाँको कठालो समात्नु त परैको कुरा हो । दुर्व्यवहार समेतको परिकल्पना गर्न सकिदैन्,’ रावलले सार्वजनिक गरेको वक्तव्यमा उल्लेख गरेका छन्, ‘त्यसैले एकतर्फी र नाटकीय ढंगले कथा बुनेर सिंगो पार्टीलाई बदनाम गर्ने खालका गतिविधी तत्काल बन्द गर्न आग्रह गर्दछु ।’ यस्तै, प्रदेश सरकारमा पार्टीको तर्फबाट गरिएका राजनीतिक नियुक्तिका लागि गरिएका सिफारिस पार्टी नेतृत्वको निर्देशन र संसदीय दलको बैठकबाट सर्वसम्मत ढंगले निर्णय गरेर सिफारिस गरिएको पनि रावलले बताएका छन् ।