अछाम — चैत २६ गते साँझ करिब ७ बजेको समयमा व्यापारी पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रबाट सल्केको आगोले भीषण रूप लिँदा अछामको पुरानो जयगढ बजार ध्वस्त भयो। बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र समेत रहेको जयगढ बजारमा २३ वटा घर र ती घरहरूमा सञ्चालित ३५ वटा पसलहरू पूर्ण रूपमा जलेर नष्ट भए। धेरैको उठिबास लाग्यो। घटनालगत्तै प्रदेश सरकारका मन्त्रीहरू, राजनीतिक दलका नेता, जनप्रतिनिधिहरूले स्थलगत अनुगमन गरे। विभिन्न स्थानीय तहले पीडितलाई राहतस्वरूप रकम घोषणा पनि गरे। तर जयगढका आगलागी पीडितले भने राहतको महसुस गर्न पाएका छैनन्।
गाउँपालिका अध्यक्ष टेकबहादुर साउदका अनुसार चैत २६ गतेको जयगढ आगलागीबाट भौतिक पूर्वाधारबाहेक करिब ८ करोड बराबरको धनमालको क्षति भएको छ। आफ्नो पक्की घरमा डोजर लगाइ भत्काउन दिएर जयगढ बजार जल्नबाट रोकेकी निर्मला रावल आफन्तको कोठामा सहयोग लिएर बसेकी छन्। उनी घरविहीन भएको शनिबार १४ दिन भइसकेको छ। तर उनले अझै राहत महसुस गर्न पाएकी छैनन्। ‘एक्कासी आगलागी भएपछि कसैले जल्न थालेको घर भत्काउँदा आगो अन्त सर्न पाउँदैन भनिरहे। कसैले आगोले जलिहाल्यो भने छुट्टै कुरा हो, घरै त किन भत्काउनु पर्यो भनिरहे,’ आगलागी भएको दिन सम्झिँदै निर्मलाले भनिन्, ‘त्यतिबेलासम्म आगो मेरो घरसम्म पुगिसकेको थियो। मेरो घर जलेर खरानी भए पनि अरूका घर बचाउनु पर्छ भनेर डोजर लगाएर घर भत्काउन दिएँ। त्यति नगरेको भए सायद जयगढको नामनिशान केही पनि बाँकी रहँदैन थियो होला।’
उनको घर जयगढमा सबैभन्दा पहिले बनेको पक्की घर पनि हो। सम्पत्तिको नाममा भएको एक घर, भाँडाकुडा, अन्नपात, गरगहना सबै जलेर खरानी भएपछि निर्मला घरविहीन भएकी छन्। १० वर्षअघि उनका श्रीमान्को हृदयघातका कारण मृत्यु भएको थियो। गाउँपालिकामा कार्यालय सहयोगीको जागिरबाट छोराछोरी पढाइरहेकी उनलाई जायजेथा सबै गुमेपछि सकस भएको छ। ‘राहतको नाममा गाउँपालिकाले दिएको एक ब्ल्याङ्केट, तेल, २५ केजी चामल, एउटा बाल्टीन मात्रै हो,’ उनले भनिन्, ‘घर जलेर खरानी भइसक्यो। राहत भनेर दिएका सामान राख्ने ठाउँ पनि छैन। सडकको बास छ। अहिले चाहिएको टाउको लुकाउने ठाउँ हो।’ आगलागी भएको बेला सबै आएर आश्वासन मात्रै दिएको उनले बताइन्। ‘एकपछि अर्को नेतामन्त्री भेट्न आए। तर अहिलेसम्म राहत आएन,’ उनले भनिन्।
जयगढ बजारको आगलागीबाट जायजेथा सबै गुमाएका व्यापारी खगेन्द्र साउदको परिवार पनि घरविहीन बनेको छ। स्थानीय तह, प्रहरीलगायतले संकलन गरेको विवरणमा साउदको मात्रै एक करोड बराबरको क्षति भएको आँकलन गरिएको छ। जयगढका मुख्य व्यापारीको रूपमा परिचित साउदको घर, गोदाम, पसल सबै जलेर नष्ट भयो। अहिले साउदको परिवार गाउँपालिकाले उपलब्ध गराएको स्वास्थ्य चौकीको एक कोठामा १४ दिनदेखि बसिरहेको छ। ‘ग्यास चुलो, २५ केजी चामल, तेल, ब्ल्याङ्केट गाउँपालिकाले दिएको छ। त्यसबाहेक अरू केही पनि पाएको छैन,’ साउदले भने, ‘म, छोरा र श्रीमती स्वास्थ्य चौकी भवनमा बसिरहेका छौं। खान, बस्न पनि समस्या छ। आगलागी भएको दुई–तीन दिनसम्म धेरै आए, अहिले कसैले वास्ता पनि गर्दैनन्। राहत पनि पाएको छैन। यसै गरी कहिलेसम्म बसिरहनु पर्ने, सम्झँदा पनि अत्यास लाग्छ।’
आगलागीबाट पीडितलाई तत्काल राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट ५० लाख उपलब्ध गराउने निर्णय भएको थियो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल बान्नीगढी जयगढ गाउँपालिकालाई ५० लाख सहयोग गर्ने निर्णय गरेको थियो। बान्नीगढी जयगढ गाउँपालिकामार्फत पीडितलाई दिने भनिएको राहत रकम अहिलेसम्म गाउँपालिकाले प्राप्त नगरेको अध्यक्ष साउदले बताए। ‘विभिन्न व्यक्ति, संघ–संस्थाबाट अहिलेसम्म करिब ४ लाख जति नगद सहयोग भएको छ। प्रदेश सरकारले दिने भनेको रकम आएको छैन। केन्द्र सरकारले अहिलेसम्म कुनै चासो दिएको छैन,’ अध्यक्ष साउदले भने, ‘पीडितलाई तत्कालका लागि खाद्यान्न राहत स्वरूप उपलब्ध गराएका छौं। बस्नका लागि अस्थायी टिनको टहरा बनाउने सल्लाह पनि हुँदैछ। दीर्घकालीन रूपमा के गर्ने भन्नेबारे ठोस निर्णय भइसकेको छैन।’
आगलागीलगत्तै अछामका सबैजसो स्थानीय तहले राहत रकम घोषणा गरे तापनि शनिबारसम्म कतैबाट रकम नआइसकेको उनले बताए। घटनास्थलको अनुगमनका लागि सामाजिक विकासमन्त्री मेघराज खड्का र आर्थिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पहिलो चरणमा अनुगमन गरेका थिए। दोस्रो चरणमा प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुरेन्द्रबहादुर पालले समेत अनुगमन गरेका थिए।कान्तिपुरबाट