बैतडी: बैतडीको पुर्चौंडीमा आजदेखी बृहत स्वास्थ्य शिविर आज देखी शुरु हुदै छ । पुर्चौंडी नगरपालिकाको आयोजना र बैतडी समाज कैलालीको सहकार्यमा शिविर आयोजना गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए ।
दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि बैतडी समाज कैलालीसंग सहकार्य गरेर बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बमले बताए । उनले भने, ‘हामीले नगरबासीको स्वास्थ्य सेवामा पहुँच पुर्याउन विभिन्न निकायहरुसंग समन्वय गरेर शिविरको आयोजना गरेका छौं । यसले नगरबासीहरुलाई सहयोग पुग्ने हाम्रो विश्वास छ ।’
शिविरमा जनरल ओपडीका साथै मुटुको चेकजाँच,पेट तथा पत्थरीको चेकजाँच,स्त्री तथा प्रसूती रोग सेवा,निशुल्क प्रयोगशाला सेवा लगायतका सेवाहरु प्रदान गरिने उछन् । शिविरमा धनगढी नेत्रालयको सहकार्यमा आँखा चेकजाँच सेवा सञ्चालन हुने छ । उक्त शिविरमा आँखाको चेकजाँचका साथै मोतीबिन्दुको शल्यक्रिया समेत गरिने छ ।
शिविर सञ्चालनका लागि पुर्चौंडी बहुमुखी क्याम्पसको भवन र पुरानो स्वास्थ्यचौकी भवनमा व्यवस्थापन मिलाइएको छ । शिविरमा बिशेषज्ञ चिकित्सकहरुले सेवा दिने भएकाले शिविरमा आएर सेवा लिन नगरबासीहरुलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । शुक्रबारदेखि आइतबारसम्म सञ्चालन हुने शिविरमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिने बताइएको छ ।
बैतडी समाज कैलालीले हरेक बर्ष विभिन्न स्थानीय तहहरुसंगको सहकार्यमा शिविरमा प्राविधिक सहयोग गर्दै आएको छ ।