धनगढी । डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला भरूवा बन्दुक पड्किदा एक युवकको मृत्यु भएको छ । बडिकेदार गाउँपालिका-१ को बर्छेन जंगलमा सिकार खेल्न गएका बेला बिहीबार दिउँसो भरूवा बन्दुक पड्किएर लाग्दा सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय नरेश सार्कीको मृत्युु भएको प्रहरीले जनाएको छ ।
डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले बडिकेदार गाउँपालिका-१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको पाइएको बताए । दाँया छातीमा गोली लागेका सार्कीको घटनास्थलमा मृत्यु भएको उनले बताए । घटनाको अनुसन्धानका लागि प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका- १ बेडुपाटा खोलाको किनारमा रहेका बन्दुक बोक्ने ४८ वर्षीय कमल सिंह खड्का,२६ वर्षका खेम खड्का, ५२ वर्षका तारा सिंह खड्का रहेका छन् । यस्तै, ३९ वर्षका तेजेन्द्र भाट, ४० वर्षका अमर शाह, ३१ वर्षका चक्र भाट, १८ वर्षका सुनिल बम,३७ वर्षका गणेश ब। घर्ती मगर, ७१ वर्षीय मानबहादुर शाह र २६ वर्षीय जुलेश नामजाली मगरलाई पनि पक्राउ गरेको एसपी शर्माले बताए ।
उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।