काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएकी छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गरिन् । साथै देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताइन् ।
मन्त्री राणाले सधैँ बाह्य सहयोगको भरमा मुलुक रहिरहन नहुने भन्दै युवा शक्तिको परिचालन गर्दै स्वदेशमा नै उत्पादनमा जोड दिनुपर्ने धारणा राखिन् । यसका लागि सही नीति बनाउनुपर्ने उनले बताइन् । आफू विदेश जाँदा नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत गर्ने र देशमा आएपछि राष्ट्रिय माहोल बिग्रिएको देख्दा आफूलाई दुःख लाग्ने गरेको बताइन् ।
परराष्ट्रमन्त्री राणाले राजावादीको जुलुसमा हजार जनाजम्मा नहुँदा पनि अन्य देशका मिडियाहरूले नेपालमा सत्ता नै पल्टिन लागेजस्तो गरेर प्रचार गरेको गुनासो गरिन् । उनले सञ्चारमाध्यमले राम्रा कुराको नभई नराम्रो कुराको प्रचार गर्ने गरेको जिकिर पनि गरिन् । राणाले मन्त्रीको कुर्सीमा भोलि जो पनि आउन सक्ने भन्दै पदलाई प्रमुख कुरा नठान्न सुझाव दिइन् ।