धनगढी: कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का पूर्व वडाध्यक्ष कृष्णबहादुर शाहले आत्महत्या गरेका छन्। बिहीबार दिउँसो विष सेवन गरी गम्भीर अवस्थामा भेटिएका उनको घोडाघोडी अस्पतालमा निधन भएको हो । दिउँसो १ बजे घोडाघोडी नगरपालिका ९ को सिमली खोला नजिकै विष सेवन गरेको अवस्थामा शाह फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले जानकारी दिए। शाह घरबाट हराएको भनी इलाका प्रहरी कार्यालय सुखडलाई जानकारी आएपछि प्रहरी निरीक्षक साउँदको टोली खोजी कार्यका लागि शाहको घरमा पुगेको थियो ।
घरमा काम छ भनेर निस्केका शाहलाई गाउँलेले जङ्गल तिर गएको प्रहरीलाई जनाएपछि प्रहरीले सिमली जङ्गलमा शाहलाई बेहोस अवस्थामा फेला पारेको जनाइएको छ । शाह भेटिएको नजिकै विष सेवनको बोतल समेत फेला परेको प्रहरी निरीक्षक साउँदले जानकारी दिए । २०७४ सालको स्थानीय चुनावमा नेकपा (एमाले)बाट शाहले वडाध्यक्षमा विजयी हुनुभएको थियो । उनि एमाले घोडाघोडी नगर कमिटी उपाध्यक्ष समेत छन् ।