धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरियामा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २७ चैतमा दुर्गा मन्दिर पछाडि हत्या गरेको अवस्थामा मृत भेटिएका डडेल्धुराका अमरगढी नगरपालिका–७ का कैनीको हत्या अभियोगमा बैतडीको डिलासैनी गाउँपालिका–३ का ३५ वर्षीय हेमन्त बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ परेका बोहरालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर थापाले कैनीको हत्यामा संलग्न रहेको पाइएपछि बोहरालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बोहरालाई गोदावरी नगरपालिका–१ को दुर्गा मन्दिर क्षेत्रबाट पक्राउ गरिएको थियो ।
बोहराले कैनीको हत्या गरेको स्वीकार गरेका छन् । उनी सशस्त्र प्रहरीको जागिर छाडेर आएका व्यक्ति हुन् भने केही समयदेखि अत्तरिया र धनगढीका विभिन्न होटलमा काम गर्ने तथा सडकपेटीमै सुत्ने गरेको पाइएको प्रहरीले जनाएको छ । डडेल्धुरा स्थायी घर भएका मृतक कैनी पनि केही समयदेखि दुर्गा मन्दिरमा बस्दै आएका थिए ।
यो घटनामा अनुसन्धानका लागि प्रहरीले माओवादी पूर्व लडाकुसहितका तीन जनालाई पनि पक्राउ गरेको थियो । सोधपुछका क्रममा शारीरीक रुपमा अपांग समेत रहेका माओवादी पूर्व लडाकुले कैनीको आफूले हत्या गरेको बयान दिएका थिए तर उनको बयानसँग सबुत प्रमाण नमिलिरहेको अवस्थामा बोहरा पक्राउ परेका थिए । हाल इप्रकाको नियन्त्रणमा रहेका उनीहरुको संलग्नता पुष्टि नभएपछि प्रहरीले प्रक्रिया पुगाएर छाड्ने तयारी गरेको छ ।
घटनाको विवरण यस्तो छ
गत चैत २६ गते अपरान्ह तिर अभियुक्त हेमन्त बोहरा अत्तरिया धनगढी रोडमा रहेको बन कार्यालयको पछाडी रहेको एक होटेलमा स्थानीय एक महिला संग बसेर मदिरा सेबन गर्छन् । त्यसपछि त्यहाँ रहेको बनको खाली घरमा केही बेर बसेका हुन्छन् ।
त्यहाँ केही स्थानीय युबाहरु पनि हुन्छन् । तर उनिहरुले खासै वास्ता गर्दैनन् । प्रहरी अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार अलि झिसमिसे साँझ परेपछि महिला मदिरा बोकेर ओम शान्तिको भवनको पर्खालमा गएर बस्छन् । अनि अभियुक्त बोहरा पनि संगै मन्दिर तर्फ जान्छन् ।
ओम शान्तिको गेटबाट बोहरा घटनास्थल दुर्गा मन्दिरमा प्रवेश गर्छन् । उनी मन्दिर पुग्दा मृतक जगदीश कैनी मन्दिरमा सुतिरहेका हुन्छन् । अनि अभियुक्त बोहरा पनि मन्दिर मा निदाउँछन् । राती ९ बजे बोहराको निन्द्रा खुल्छ र उनी बजार निस्किएका छन् ।
बजारमा धनगढी रोडमा रहेको गुरुङ मम सेन्टरमा गएर रहर भन्ने मदिरा खरिद गरेर पुनः मन्दिरमा फर्किएको अनुसन्धानले देखाएको छ । मन्दिरमा आएर पुनः बोहराले मदिरा सेबन गर्छन् अनि एक छिनपछि पानी पिउन नजिकै को बोरिङमा गएका हुन्छन् ।
अनि बोहरा आएर निदाउँछन् । राती उनको निन्द्रा खुल्छ र खल्तीमा रहेको ४ सय रुपैयाँ चोरेको थाहा पाउँछन् । चैत्र ३ गते पनि उनको सोही मन्दिरबाट झोला पनि हराएको प्रहरीको अनुसन्धानले देखाएको छ।
राती निन्द्रा खुलेपछि उनले पैसा पनि हरायो मेरो झोला पनि हरायो भनेर नजिकै रहेको ढुँगा बोकेर मृतक कैनीको टाउकोमा हिर्काउँछ्न । त्यति हिर्काउँदा पनि कैनी हलचल गर्दैनन् अनि बोहरा कैनीलाई घिसार्दै लगेर नयाँ मन्दिर तिर लगेर पुनः टाउकोमा ढुँगाले हिर्काउँछन् ।
त्यसपछि अनि त्यही नजिकै रहेको बनको खाली घरमा २७ गते बस्छन् । अनि उनले अत्तरियाको १२ बन होटेलमा काम गर्छन् । त्यसपछि धनगढीको चौलानी होटेलमा पनि काम गर्छ।
त्यो बीचमा प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरेको थियो। अभियुक्त बोहरा पुनः बैशाख ३ गते शिबिर पछाडि गएर उहीँ ठाँउमा मदिरा सेबन गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
उनको तस्बिर प्रहरीले त्यो टोलमा पुर्याइसकेको थियो त्यसपछि स्थानीय महिलाले उनी त्यहाँ रहेको प्रहरीलाई जानकारी गराएपछि बुधबार नै प्रहरीले पकाउ गरेको हो ।