धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले आगलागीबाट अछामको जयगढ बजारका संरचनाको निरीक्षण गरेका छन् । जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित मन्त्री पाल बुधबार आगलागीबाट क्षतिग्रस्त बान्नीगढी जयगढ गाउँपालिका(३ मा पर्ने जयगढ बजार पुगेका थिए । त्यहाँ क्षतिग्रस्त संरचनाको निरीक्षण र प्रभावितहरूसँग भेटेका मन्त्री पालले पहिलो चरणमा प्रदेश सरकारले राहत स्वरूप ५० लाख दिने निर्णय गरिसकेको बताए ।
थप सहयोग आवश्यक पर्ने अवस्था देखिएमा पहल गरेर व्यवस्थापन गर्ने बताए । मन्त्री पालसँगै एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी समेत प्रभावित क्षेत्र पुगेका थिए । उनीहरूले त्यहाँ गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधिसँग छलफल समेत गरेका थिए । यस्तै, मन्त्री पालले बुधबार नै मेल्लेख गाउँपालिका-६ को नन्देश्वरी माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञको उद्घाटन समेत गरेका छन् ।
विद्यालयले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको उद्घाटन गरेका हुन् । विद्यालयले पाललाई महायज्ञ उद्घाटनका लागि प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको थियो । महायज्ञ उद्घाटन गर्दै मन्त्री पालले धार्मिक पर्यापर्यटनको माध्यमबाट समेत प्रदेशको आर्थिक विकास गर्न सकिने बताए । सोही उदेश्य राखेर प्रदेश सरकारले धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान गरेर पूर्वाधार निर्माणका काम समेत अघि बढाएको मन्त्री पालको भनाइ थियो ।