धनगढी । मधेश प्रदेशमा बलियो प्रभाव रहेको जनमत पार्टी र सुदूरपश्चिम र लुम्बिनीका तराईका जिल्लामा बलियो संगठन रहेको नागरिक उन्मुक्तिबीच एकता अन्तिम चरणमा पुगेको छ । दुई पार्टीबीच वैशाख तेस्रो साताभित्र एकता घोषणा गर्ने तयारी भएको छ ।
दुवै पार्टीको विधानलाई अन्तिम रूप दिएर एकता घोषणा मिति तय गर्ने जनमत उपाध्यक्ष अब्दुल खान जानकारी दिएका छन् ।‘विधान मस्यौदालाई अन्तिम रूप दिने काम भइरहेको छ,’ उनले भने, ‘विधानका विषयवस्तु टुंग्याएपछि वैशाख तेस्रो साताभित्र पार्टी एकता घोषणा हुन्छ ।
दुवै पार्टीका केन्द्रीय सदस्य करिब ५० -५० प्रतिशत हुने गरी करिब सात सय सदस्यीय केन्द्रीय समिति बनाउने तयारी छ । त्यस्तै एक सयदेखि एक सय ५० सदस्य केन्द्रीय कार्यकारिणी र २५ सदस्य सचिवालय बनाउने गरी विधानमा काम भइरहेको दुवै दलका सदस्य रहेको विधान प्रतिस्थापन सदस्यले बताएका छन् ।
नागरिक उन्मुक्ति संरक्षक रेशमलाल चौधरीले विधान मस्यौदामा धेरै विषय मिलिसकेको र केही प्राविधिक विषय बाँकी रहेको बताए । नागरिक जनमत पार्टी र चुनाव चिह्न ढकियामा सहमति भइसकेको उल्लेख गर्दै चौधरीले प्राविधिक विषय मिलाउन बाँकी रहेकाले केही ढिलाइ भएको बताए । सहमतिअनुसार रेशम चौधरी संरक्षक, अध्यक्ष सीके राउत र तेस्रो वरीयतामा रन्जिता श्रेष्ठ चौधरी रहने छन् । मुख्यगरी तीन नेताको बैठकले पार्टी वरीयता मिलाएकाले विवाद बाँकी नरहेको श्रेष्ठले बताइन् ।
संरक्षक रेशमले रञ्जितासहित भएको बैठकले मुख्य विषय टुंगोमा लगाएको दाबी गर्दै विवादको विषय आफ्नो दलभित्र नरहेको बताए ।
जनमत र उन्मुक्तिबीच भौगोलिक हिसाबले पार्टी सञ्चालनको जिम्मा लिने सहमति भएको छ । रेशम चौधरीले चितवन पश्चिम र सीके राउतले चितवनपूर्वको पार्टी संगठनको जिम्मा लिने सहमति भएको जनमत उपाध्यक्ष खानले बताए । प्रतिनिधिसभामा जनमतका ६ र उन्मुक्तिका ४ सदस्य छन् । सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशसभामा यो शक्ति निर्णायक हुने छ ।