धनगढी – कैलालीको चिसापानी–कुइने सडक निर्माणका लागि ४७२ वटा रुख काट्न सम्झौता भएको छ। मंगलबार सङ्घीय वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र सडक विभाग बिचमा सम्झौता भएको हो।
सम्झौता पत्रमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ चिसापानी–मंगलसेन सडकको १६ किलोमिटर खण्डको स्तरोन्नतिका लागि वन ऐन, २०७६ को दफा ४२ को उपदफा १० बमोजिम राष्ट्रिय वनको आठ दशमलव ९२ हेक्टर जग्गा प्रयोग गर्ने दिने भनिएको छ।
उक्त सम्झौता वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा भएको हो। सडकमा रहेका रुख कटानीको आदेश नभएकाले ७ किलोमिटर निर्माणको काम रोकिएको थियो। उक्त सडका निर्माणका लागि १२ करोड ८० लाख लागतमा दिव्यज्योती–शाही जेभीसँग २०७९ साउन ३ गते ठेक्का सम्झौता गरेको थियो।