धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरिया हत्या गरेको अवस्थामा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनी सडक पेटीमा बस्दै आएका व्यक्ति भएको पाइएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी घर भएका कैनी केही वर्षदेखि सडक पेटीमै बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । उनी सडक पेटीमा बस्ने अन्य व्यक्तिहरुसँगै अत्तरिया क्षेत्रमा माग्दै हिड्ने गर्दथे भने बढिजसो राति अत्तरियाकै दुर्गा मन्दिर परिसरमा बस्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटना भएको राति समेत उनी दुर्गा मन्दिरमै सुतिरहेका थिए ।
तर उनी सुुतेकै अवस्थामा टाउकोमा ढुंगा प्रहार गरेर निर्मम हत्या गरेको पाइएको छ । दुर्गा मन्दिरमा सुतिरहेका बेला हत्या गरेर शव घिसारेर मन्दिरको पछाडिसम्म पुगाएको देखिएको प्रहरी बताउँछ । प्रहरीकाअनुसार उनको हत्यामा संलग्न भएको आरोपमा उनी जस्तै सडक पेटीमा बस्दै आएका तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुको विवरण आधिकारीक रुपमा प्रहरीले सार्वजनिक गरेको छैन ।
पक्राउ पर्नेमा दुई जना पुुरुष र एक महिला छन् । उनीहरु मध्ये शारीरिक अपांगता भएका पुुरुष र महिला भने पूर्व माओवादी लडाकु हुन् । दुवै जना एकअर्कालाई श्रीमान श्रीमतीका रुपमा चिनाउने गर्छन् । प्रहरीले संकलन गरेको सीसीटीभी फुुटेजमा उक्त राति पक्राउ परेका मध्ये पूर्व माओवादी लडाकु मन्दिरभित्र प्रवेश गरेर केही बेरमा फर्किएको देखिन्छ ।
उनैले प्रहरीलाई कैनीको हत्या आफैँले गरेको बयान दिएका छन् । ‘कैनीले मेरो श्रीमतीलाई जिस्काउने, मलाई अपांग देखेर होच्याउने, पैँसा चोर्ने काम गर्थे । त्यसैले ढुंगा प्रहार गरेर हत्या गरेको हुँ,’ उनले दिएको बयान उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘हत्यापछि शव घिसारेर मन्दिरको पछाडि फालेको थिए ।’ उनी एक्लैले कैनीको हत्या गरेको दाबी गरेको प्रहरी स्रोत बताउँछ ।
प्रहरीले बरामद गरेका आरोपीतका लुगामा रगत समेत लागेको भेटिएको छ । तर कैनी शारीरिक रुपमा आंपाग भएकाले बयान र घटनाको प्रकृति अनुसार एक्लैले हत्या गरेको कुरा असम्भव जस्तो छ । प्रहरीले उनको बयानअनुसार अन्य सबुुत प्रमाण समेत संकलन गर्ने काम गरिरहेको जनाएको छ ।प्रहरीले हत्यामा प्रयोग गरिएको ढुंगा समेत बरामद गरेको छ । घटनाको इलाका प्रहरी कार्यालय मालाखेतीसँगै जिल्ला प्रहरी कार्यालय कैलाली, प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोलीले अनुसन्धान गरिरहेको छ ।