धनगढी: धनगढीमा जारी राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिता-२०८१ को उपाधी राष्ट्रिय युवा संघ डोटीले हात पारेको छ । धनगढी रंगशालामा आज भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा मालिकार्जुन दार्चुलालाई पछि पार्दै राष्ट्रिय युवा सङ्घ डोटीले उपाधि हात पारेको हो। प्रतियोगिताको दृतीय स्थान मालिकार्जुन दार्चुलाले हात पारेको छ भने रानाथारु आदर्श युवा क्लबले तृतीय स्थान हात पारेको छ।
राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा चैत २९ गतेबाट धनगढी रंगशालामा सुरु भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता आज बैशाख २ गते भव्य समापन गरिएको हो। आज भएको समापन कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज अरुण कुँवरको अध्यक्षता रहेको थियो भने राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय इन्चार्ज राजिव पहाडीको प्रमुख आतिथ्यता रहेको थियो।
यस्तै समापन समारोहमा राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय महासचिव सुमन पुरी, नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना लगायत विभिन्न व्यक्तिहरूको विशिष्ट अतिथ्यता रहेको थियो। यसैगरी नेकपा एमालेमा आबद्ध नेताहरू, राष्ट्रिय युवा सङ्घ नेपालमा आबद्ध व्यक्तिहरू तथा विभिन्न क्षेत्रका खेल प्रेमीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा प्रथम हुने टीम राष्ट्रिय युवा सङ्घ डोटीले नगद २ लाख २५ हजार पुरस्कार प्राप्त गरेको छ। यस्तै द्वितीय स्थान हासिल गर्ने टिम मालिकार्जुन दार्चुलाले १ लाख २५ हजार तथा तेस्रो स्थान हासिल गर्ने रानाथारु आदर्श युवा क्लबले नगद ७५ हजार पुरस्कार प्राप्त गरेका छन्। उक्त प्रतियोगिता लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने र युवाहरुलाई खेलकुदमार्फत सकारात्मक सोच, अनुशासन र नेतृत्व क्षमतातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो।
राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीका अनुसार यस्ता गतिविधिहरूले युवाहरूलाई सशक्त, सक्रिय र जिम्मेवार नागरिक बन्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।