काठमाडौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद्मा प्रश्न दर्ता गरेर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीलाई सोधेकी थिइन् ।
जवाफमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका हुन् । सांसद गौतमको प्रश्न छ– कञ्चनपुरकै गृहमन्त्री हुनुहुन्छ, तर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन सकेको छैन, आफ्नै निर्वाचन क्षेत्रको जघन्य अपराधको सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन तपाईंलाई गृहमन्त्रीको हैसियतमा के ले रोकेको छ ?’
यो विषयलाई सरकारले प्राथमिकतामा नराखेको आशंका सांसद गौतमको छ । उनी अगाडि सोध्छिन्, ‘न्याय दिलाउने जिम्मेवारीबाट सरकार पन्छिन खोजेको हो रु निर्मला पन्तको हत्या प्रकरणलाई अन्त्य गरेर दोषीलाई कानुनी कठघरामा उभ्याउने साहस कहिले देखाउनुहुन्छ, मन्त्रीज्यू ?’ जवाफमा गृहमन्त्री लेखक लेख्छन्, ‘गृह मन्त्रालय र अन्तर्गतका संयन्त्रहरू तथ्यमा आधारित रहेर निस्पक्षमूलकढंगबाट अनुसन्धान गर्ने गरी परिचालन गरिएको छ । त्यसैले प्रस्तुत अपराधमा सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको छ ।’
१० साउन २०७५ मा कञ्चनपुरको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबिन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो ।
तर, अझैसम्म यो विषयको वास्तविकता थाहा लाग्न सकेको छैन ।