कैलाली । बीजी इन्फोटेक (आईटी कम्पनी) ले आफ्नो पहिलो स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तर्गत एक प्रेरणादायी काम गरेको छ । इन्फोटेकले सोमबार बिहान छाडा गाई तथा गोरुलाई रोटी र केरा खुवाएर दिवसको सुरुवात गरेको हो । यस्तै, साँझको समयमा धनगढीका मुख्य सडक आसपास रहेका छाडा कुकुरहरूलाई मासु र भात खुवाइएको इन्फोटेकले जानकारी दिएको छ ।
केवल भोजनमै सीमित नरहेर, इन्फोटेकले सडक दुर्घटनाको जोखिम कम गर्न छाडा चौपायाका घाटीमा राती देखिने रिफ्लेक्टिङ्ग बेल्ट समेत बाँधिएको इन्फोटेकका सञ्चालक सन्देश बोगटीले जानकारी दिए । रिफ्लेक्टिङ्ग बेल्टले रातको समयमा सवारी साधनले चौपाया देख्न सक्ने भएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
छाडा जनावरहरूप्रति दया भाव र समाजमा चेतना फैलाउने उद्देश्यले यस्तो प्रयास गरिएको बताइएको छ । सञ्चालक बोगटीले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।