कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन् । भारतका संविधान निर्माता डा. भिमराव अम्बेडकरको १३४ औ जन्म जयन्तीको अवसरमा धनगढीमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख मियाँले नेपालको संविधानको चर्चा गर्दै संविधानले दिएको अधिकार बारे व्याख्या गरेका थिए । ‘हाम्रो देशको संविधान विश्वकै उत्कृष्ट संविधान हो’, प्रदेश प्रमुख मियाँले भने, ‘संविधानले पर्याप्त अधिकार दिएको । त्यसलाई कार्यान्वयन गराउनु तपाई हाम्रो दाइत्व हो ।’
उनले पाएको अधिकारलाई संरक्षण गर्नु आजको आवश्यकता रहेको टिप्पणी गरेका थिए । प्रदेश प्रमुख मियाँले जात ,धर्म, वर्ग र लिङ्गको आधारमा विभेद गरे कडा कारबाही गर्ने व्यवस्था पनि कानुनमा रहेको बताए । संविधानको पूर्ण कार्यान्वयन गराउन सबै पक्षको भूमिका रहने उनको भनाइ थियो । पछिल्लो समय धेरै समस्या हल हुँदै गएको भन्दै प्रदेश प्रमुख मियाँले धेरै नकारात्मक टिप्पणी गर्नु भन्दा सकारात्मक सन्देश दिन आवश्यक रहेको बताए । कार्यक्रममा पूर्व मन्त्री समेत रहेका संविधान सभा सदस्य विश्वेन्द्र पासवानले सीमान्तकृत समुदायका धेरै नागरिकहरू अझै पनि अधिकारबाट वञ्चित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा कमल बहादुर पुन, प्रेम बिसी, डा।सञ्जय सिंह, डा। मेराज आलम अन्सारी लगायतले डा। भिमराव अम्बेडकरको चर्चा गरेका थिए । नेपाल बौद्ध अम्बेडकर महासभा केन्द्रीय कमिटी र धर्मोदय सभा शाखा बुद्ध विहारको संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम नेपाल बौद्ध अम्बेडकर महासभा केन्द्रीय अध्यक्ष मनोज जैगडी अध्यक्षतामा सम्पन्न भएको थियो ।