धनगढी – सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि खुला तथा बढुवा प्रतियोगितात्मक विज्ञापन प्रकाशित गरेको छ। यसपटक आयोगले पहिलोपटक थारू समुदायका लागि कोटा छुट्याएर विज्ञापन खुलाएको हो। आयोगले लेखा समूहअन्तर्गत उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट २ जना र कार्यक्षमता मूल्यांकनबाट ३ जना बढुवाका लागि विज्ञापन खोलेको छ। खुला तथा समावेशी प्रतिस्पर्धाबाट ४ पदमा दरखास्त मागिएको छ।
अधिकृत सातौं तहतर्फ लेखा र शिक्षा सेवामा अप्राविधिकतर्फ ११ जना (ज्येष्ठतांकार्यसम्पादन), १४ जना (कार्यक्षमता मूल्यांकन) र प्राविधिकतर्फ १ जनाका लागि विज्ञापन गरिएको छ। ियसैगरी आन्तरिक, अन्तर तह, खुला तथा समावेशी प्रतिस्पर्धाबाट अप्राविधिकतर्फ ३९ पदमा दरखास्त मागिएको छ, जसमा थारू र राना थारूका लागि २ कोटा छुट्याइएको छ। प्राविधिकतर्फ ८ पदमा विज्ञापन खुलेको छ।
दरखास्त दिने अन्तिम म्याद वैशाख २० तोकिएको छ भने दोब्बर दस्तुर तिरेर वैशाख २७ सम्म आवेदन दिन सकिनेछ। परीक्षा केन्द्र धनगढी, कैलाली तोकिएको छ। सचिव वसन्तप्रसाद कोइरालाका अनुसार, प्रदेश निजामती सेवा ऐन तथा नियमावलीअनुसार थारू समुदायलाई १३ प्रतिशत आरक्षण व्यवस्था गरिएको हो।