धनगढी । कैलालीको अत्तरियामा फेला परेको शवको सनाखत भएको छ । अत्तरिया चौराहाको दुर्गा मन्दिर परिसरमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको शव अमरगढी नगरपालिका वडा नम्बर– ७ स्थित पोखराका ३५ वर्षीय जगदीश कैनीको भएको सनाखत भएको हो ।
शवको जगदीशका दाइ राम कैनीले सनाखत गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए । उनले अब पोष्टमार्टमको प्रक्रिया अगाडी बढाइने बताए । जगदीश पहिले देखि परिवारको सम्पर्कमा नरहने गरेको खुलेको उनले बताए ।
‘यिनको घर डडेल्धुरामा भए पनि बस्ने ठेगान नहुने रहेछ । कहिले कता बस्ने कहिले कता बस्ने गर्ने, घरपरिवारको सम्पर्कमा नहुने रहेछन्’ मृतकका दाइको भनाइलाई उद्धृत गर्दै डिएसपी थापाले भने ‘यिनले मोबाइल पनि नबोक्दा रहेछन् ।’
उनले मृतकको दाजु भाउजू भए पनि आमाबुवा, श्रीमती, छोराछोरी नभएको बताए । उनले हत्या गर्नेको पहिचान भने नखुलेको बताए । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
बुधबार चैत २७ गते विहान इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको थियो । शवको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएकाले अनुहार नचिनिने अवस्थामा रहेको थियो ।