धनगढी: नेपाल पत्रकार महासंघ कैलाली शाखाले राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय धनगढीमा ज्ञापनपत्र बुझाएको छ। शुक्रवार कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा गएको टोलीले सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण तथा पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाको विषयमा दबाबसहित चासो दिन ध्यानाकर्षण गराउँदै मानवअधिकार अधिकार आयोगमा ज्ञापन पत्र बुझाएको हो।
घटनाको निष्पक्ष र स्वतन्त्र छानबिनका लागि आग्रह गर्दै पत्रकार महासंघले ज्ञापन पत्र बुझाएको अध्यक्ष देउवाले बताए। ज्ञापन पत्र बुझ्दै मानव अधिकार आयोग प्रादेशिक कार्यालय धनगढीका प्रमुख प्रकाश भट्टले पछिल्लो समयमा प्रेस स्वतन्त्रता हननका घटना बढेको बताउँदै सुदूरपश्चिम प्रदेशमा पनि चासोका साथ हेरिरहेको बताए।