धनगढी । कैलालीको अत्तरियामा आयोजित ‘दुर्गालक्ष्मी दौडिन्छ।।’ म्याराथन प्रतियोगिताको उपाधी नरेन्द्र सिं रावतले हात पारेका छन । शुक्रबार दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा गठित पुर्व विद्यार्थी मञ्चले आयोजना गरेको उक्त प्रतियोगितामा रावत प्रथम भएका हुन । दुर्गालक्ष्मी नमुना मावि अगाडी देखी सुरु भएको दौड प्रतियोगिता तेघरीस्थित बनदेवी मन्दिरबाट फिर्ता भएर सुरु बिन्दुमै सम्पन्न भएको थियो ।
जम्मा ९ किलोमिटरको दौड प्रतियोगिता रावतले ३३ मिनेट १० सेकेण्डमा पुरा गरेका थिए । प्रतियोगितामा करन रावत द्धितिय भए । उनले ३३ मिनेट ११ सेकेण्डमा दौड पुरा गरेका हुन । प्रतियोगितामा ३४ मिनेटमा दौड पुरा गर्दै सामन्त सिँह ठगुन्ना तृतिय भए ।
प्रथम भएसँगै नरेन्द्र सिं रावतले २१ हजार १११ रुपैया पुरस्कार पाएका छन भने द्धितिय भएका करन रावतले ११ हजार १११ रुपैया पुरस्कार पाएका छन । तृतिय भएका सामन्त सिं ठगुन्नाले भने ५ हजार ५५५ रुपैया पुरस्कारमा चित्त बुझाएका छन ।
मञ्चका अध्यक्ष नारद प्रसाद भट्टले दुर्गालक्ष्मी नमुना माविको स्वर्ण महोत्सवको अवसरमा दुर्गालक्ष्मी दौड प्रतियोगिताको आयोजना गरिएको बताए । उनले खेलकुदका माध्यमबाट स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागि प्रतियोगिता महत्वपुर्ण भएको बताए ।
प्रतियोगिताका संयोजक प्रमोद अधिकारीले पुर्व विद्यार्थी मञ्च गठन भएपछि केही न केही गरौँ भन्ने सोचेर प्रतियोगिता आयोजना गरिएको बताए । उनले विद्यालयको भव्य कार्यक्रम भैरहेको बेला सो कार्यक्रमलाई प्रभावकारी बनाउन पनि पुर्व विद्यार्थीका तर्फबाट सहयोग गरिएको बताए । उनले प्रतियोगिताका लागि अनुमानित २ लाख लागेको बताउदै करिब १ हप्ताकै अवधीमा प्रतियोगिता सम्पन्न गर्न सकिएको बताए । उनले प्रतियोगितामा एक सय जना प्रतिष्पर्धी सहभागि भएको बताए ।
त्यसका साथै उनले विद्यालयबाट अध्यापन गरेर राम्रो हैसियतमा पुगेका पुर्व विद्यार्थीहरुले विद्यालयको शैक्षिक गुणस्तर बढाउन, विद्यालयलाई अझै नमुना बनाउन के गर्न सकिन्छ भनेर मञ्च गठन गरिएको बताए । उनले विद्यार्थीहरुको शैक्षिक उन्नतीका लागि नै समितिले काम गर्ने बताए । उनका अनुसार समितिले प्रत्येक वर्ष म्याराथुन प्रतियोगिता आयोजना गर्नेछ ।