काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँग अर्थतन्त्र सुधार हुने खालका सुझाव दिन माग गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा बोल्दै उनले यस्तो सुझाव दिन आग्रह गरेका हुन् ।
मन्त्री भण्डारीले भने, ‘आगामी आवको बजेट ल्याउने तयारी भइरहेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि अर्थतन्त्र सुधार हुने खालका सुझाव दिनुहुन आग्रह गर्दछु ।’ उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता रहेको समेत उनले दाबी गरे । ‘लगानीको वातावरण बनाउन सरकारले सुधारका कदमहरू चालिरहेका छन् । कानुन सुधार गरेका छौ । लगानीका लागि अप्ठ्यारो परेका बाटोहरूमा सुधार गरेका छौँ,’ उनले भने ।
स्वदेशी उत्पादन बढाएर निर्यात बढाउनु पर्ने आवश्यकता रहेकोले व्यवसायीहरूले पनि यसतर्फ ध्यान दिन उनले आग्रह गरे । नेपालको अर्थतन्त्रमा देखिएको शिथिलता र सुधारका कदमहरू चाल्न निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए ।