धनगढी । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा लागेको भीषण आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ । स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमइ सेन्टरमा साँझ ७ स्२० मा ग्यास सिलिन्डर विस्फोट भएर सल्केको आगो राती १२ बजेर ३० मिनेटमा नियन्त्रणमा आएको हो ।
आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ । जयगढ बजारमा रहेका १० वटा ढुगा माटोले बनेको घर, १५ वटा टीनले बनेको कच्ची घर र २ वटा पक्की घर गरी २७ वटा घर तथा पसलहरू पूर्ण रुपमा जलेर नष्ट भएको छ । घर पसलमा रहेका ७ करोडभन्दा बढी धनमालको क्षति भएको र विस्तृत विवरण संकलनका कार्य भइरहेको जिल्ला प्रहरी प्रमख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।’
मंगलसेन नगरपालिकाको दमकल, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । जिल्लामा एक मात्र दमकल हुनु, बजारको साँघुरो बाटो, पानीको अभावका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको थियो ।
डीएसपी भण्डारीका अनुसार लामो समयसम्म आगलागी नियन्त्रण नभएपछि आक्रोशित भएका युवाहरूले बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदको घरमा ढुङ्गामुडा प्रहार गर्नुका साथै उनी माथि आक्रमण गरेका थिए ।