धनगढी । कैलालीको धनगढीस्थित मुख्य बजार क्षेत्रमा कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कैलाली पुलदेखि हुलाकी रोड जिरो प्वाइन्टसम्म कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेसंगै सडक क्षेत्रमा परेका संरसचना आफै बत्काएका नागरिक उत्साहित छन् । सडक अधिकार क्षेत्रमा परेका ४२८ संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काए पछि प्रदेश सरकारले निर्माण कम्पनी केएस कन्स्ट्रक्सन प्रालिलाई ०८२ बैशाख २६ गतेभित्रै निर्माण सम्पन्न गर्न म्याद दिइएकोमा कम्पनीले निर्धारित मितिमै सम्पन्न गर्ने देखिएको छ ।
धनगढीको कैलालीपुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडकको निर्माण अन्तिम चरणमा पुगेका पछि नागरिक खुशी भएका छन् । पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार निर्माण कम्पनी केएस कन्स्ट्रक्सन प्रालिलाई ०८२ बैशाख २६ गतेभित्रै निर्माण सम्पन्न गर्न म्याद दिइएकोमा कम्पनीले कालोपत्रेको काम निर्धारित मितिमै सम्पन्न गर्ने गरी काम गरिरहेको छ । समयमा काम सम्पन हुने भएपछि सडकको भोगाधिकार भित्र घरपरेका नागरिक उत्साहित छन् ।
पूर्वाधार विकास कार्यालय कैलालीका साइड इञ्चार्ज हर्क जोशीले कालोपत्रेको काम समयमा सकिने बताउँदै फुटपात, रंगरोगन लगायतको काम बाँकी रहने बताए । २.३ किलोमिटरको यो सडक खण्ड अक्स्फाल्ट कंक्रिट प्रविधिबाट कालोपत्रे हुँदैछ । जसको मोटाई १० सेन्टिमिटर हुन्छ भने अक्स्फाल्ट कंक्रिटको मिश्रणमा २ प्रतिशत सिमेन्ट, ५.४ बिटुमिन, बाँकी ९२.६ प्रतिशत १३ एमएम भन्दा साना गिट्टी र ढुंगाकै डस्ट प्रयोग गर्ने स्टिमेट बनेको छ । अब कैलाली पुलदेखि पार्क मोडसम्म मात्रै कालोपत्रे गर्न बाँकी रहेको छ । बाँकी रहेको यो खण्डमा पनि एक हप्ताभित्रै कालोपत्रेको काम हुने पूर्वाधार विकास कार्यालय धनगढीले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बनिरहेको यो सडक निर्माणका लागि सडक अधिकार क्षेत्रमा परेका ४२८ संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको थियो । उपमहानगरपालिकाले सडक अधिकार क्षेत्रमा परेको संरचना हटाएपछि सडक विस्तारको काम सुरु गरिएको थियो । यसअघि यो सडक क्षेत्रीय सहरी विकास आयोजनाले बनाउने तय भएको थियो तर भौतिक संरचना हटाउने सवालमा विवाद बढेपछि अन्यतिर काम गरेर सो आयोजना फिर्ता गएको थियो तर अब सडक निर्माणमा कुनै समय नरहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
भ्याटसहित ५१ करोड ६८ लाख ७८ हजार रुपियाँको लागतमा कैलाली पुलदेखि हुलाकी रोड जिरो प्वाइन्टसम्म सडक बनिरहेको छ । सडक निर्माणका लागि २०८० वैशाख २७ गते धनगढीकै केएस कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । २०८२ वैशाख २६ गतेसम्म ठेक्का समायवधि सकिँदै छ । यो सडकको दुवैतर्फ पैदलमार्गसहित पक्की नाला, सोलार सडकबत्ती रहने जनाइएको छ । २.३ किलोमिटर लामो बन्ने कालोपत्रे सडकको चौडाइ ३० मिटर तोकिएको छ । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।