धनगढी । सुदूरपश्चिमको सबै जिल्लालाई आवश्यक पर्ने पाठ्यपुस्तक प्रदेश अस्थायी राजधानी धनगढी पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र धनगढी लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि यस प्रदेशलाई आवश्यक पर्ने सबै पाठ्यपुस्तक वितरणका लागि आफ्नो प्रादेशिक कार्यालयमा पठाइसकेको हो ।
यस प्रदेशमा नयाँ शैक्षिकसत्रका लागि १८ लाख १७ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएको छ । त्यति पाठ्यपुस्तक धनगढीस्थित प्रादेशिक कार्यालयमा आइपुगेको प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए ।
उनले विकट पहाडी जिल्लामा पाठ्यपुस्तक वितरणसमेत हुन थालेको उल्लेख गरे । “बाजुरा, दार्चुला, बैतडी, अछाम, बझाङमा पाठ्यपुस्तक पुगेर वितरण भइरहेको छ”, श्रेष्ठले भने , “डोटी, डडेल्धुरा पनि पुस्तक जाँदै छ ।” उनले छ लाख थान पाठ्यपुस्तक वितरण भइसकेको जानकारी दिए ।
कञ्चनपुरमा आजदेखि वितरण भइरहेको छ । कैलालीमा चैत २८ गतेदेखि पाठ्यपुस्तक वितरण हुने जनाइएको छ । यसवर्ष चैत मसान्तभित्र सबै जिल्लामा पाठ्यपुस्तक वितरण गरी सक्ने प्रमुख श्रेष्ठले बताए । “वैशाख १० गतेदेखि नयाँ शैक्षिकसत्रको कक्षा सञ्चालन हुँदै छ”, उनले भने ,“त्योभन्दा पहिले विद्यार्थीको हात हातमा सबै पाठ्यपुस्तक पुगिसक्ने छ ।”
सुदूरपश्चिमको पहाडी जिल्लामा ढुवानी समस्या हुने गरेको छ । यसवर्ष सबैभन्दा पहिले विकट जिल्लामै पाठ्यपुस्तक ढुवानी गरिएको छ । सूचीकृत १९४ व्यवसायीमार्फत जिल्ला जिल्लामा किताब ढुवानी भइरहेको हो ।
धनगढी आएका किताबलाई केन्द्रको प्रादेशिक कार्यालयले चैत १७ गतेबाट वितरण सुरु गरेको थियो । यसवर्ष बैतडीमा एक लाख एक हजार ७७३ थान, बझाङमा ७२ हजार ५५० थान, बाजुरामा एक लाख नौ हजार २९६ थान, दार्चुलामा ९५ हजार ४०६ थान पाठ्यपुस्तक पठाइएको छ । नयाँ शैक्षिक सत्रका लागि कक्षा ९ को अर्थशास्त्र, कम्प्युटर र ऐच्छिक गणित परिवर्तन भएको छ । बाँकी सबै कक्षाको पाठ्यपुस्तक पुरानै रहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।