धनगढी: मानिसले कुनैपनि सफलतामा पुग्न निकै सघंर्ष गर्नुपरेको हुन्छ । सघंर्ष बिना सफलतापनि प्राप्त गर्न सकिदैन । सबै हात खुट्टा तन्दुरस्त भए मात्रै मानिसलाई काम गर्ने साहस आउँछ र उसका कर्म शुरु हुन्छन् । सपागं भएपनि कुनै न कुनै रुपमा उसका अगाडी निकै चुनौती आएकै हुन्छन् । सपागं नागरिकलाइनै जिवनमा सफलता प्राप्त गर्न यत्ति चुनौती छ भने, एक जना अपागंता भएका नागरिकलाई जिवन जिउन कति असहज होला । यस्ता सघंर्षका बिचबाट उदाएका एक ब्यक्ती हुन् नन्दराज भट्ट । उनको कथा अनी ब्यथा त छदैछ तर शरिरका सम्पुर्ण अगंनै नभएका नन्दराज सपागं नागरिक भन्दा कयौँ गुणा बढी सक्रिय छन् । उनको कथा यस्तो छ ।
‘दुवै हात–खुट्टा नहुँदा शारीरिक कठिनाइ त छँदै थियो, कतिपय आफन्त र साथीभाइले हेयको रूपमा पनि हेरे । तर मैले जीवनदेखि हार मानिनँ । बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाइ सँगसँगै अन्य कार्यलाई निरन्तरता दिएँ,’ उनले भने । उनै प्रेरणाका पात्र नन्दराज भट्ट, जसले मुख, कुहिना र खुट्टाले लेखेरै मास्टर्स डिग्री पास गरेका छन् ।
सफलता चुम्न उनलाई चट्टान फुटाएर फलामको चिउरा चपाउनु सरह थियो । ‘निरन्तर मेहनत गर्ने मान्छे अवश्य सफलता पाउँछ,’ उनी भन्छन्, ‘मलाई कहाँ सजिलो थियो र ? विकट पहाडी जिल्ला बैतडीमा जन्म, परिवारको गरीबी र शारीरिक अशक्तता ।’ तर यी बाधाका पहाडले उनको सफलतालाई अवरोध गर्न सकेनन् । कसरी सम्भव भयो यो सफलता ?
सजिलो थिएन सफलता चुम्न
घरमा छोरा जन्मिदा सबैतिर खुशियाली छाउँछ, परिवार अनी गाउँमा खुसियाली छाउँछ, तर नन्दराज जन्मिदा रुवाबासी चलेको थियो । घरको पहिलो शन्तानको रुपमा भट्ट परिवारमा छोरा जन्मिँदा घरपरिवार नै चिन्तित भयो । कारण थियो, त्यस परिवारमा जन्मजात दुवै हात र खुट्टाका केही औला नभएको एक सन्तानको जन्म भयो । छोरा जन्मिएको खुशीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भोजभतेर गर्ने चलन भए पनि उनी जन्मिँदा घरमा कुनै खुशीयाली आएन, बरु आमाबुवा चिन्तित भए ।
उनलाई हेर्न गाउँलेको घुइँचो लाग्न थाल्यो । छरछिमेकले उनलाई जिउँदै गाड्न सुझाव दिए । तर आमाबुवाको मायाले कहाँ मार्न सकिन्थ्यो र ? आमाबुवाले पाप गरेनन् । बिस्तारै न्वारनको दिन आयो, उनको नाम नन्दराज भट्ट राखियो । जन्मिँदा धेरैको हेयको पात्र बनेका तिनै नन्दराज अहिले भने अपाङ्गता भएकाहरूका लागि मात्र होइन, सिंगो समाजका लागि पनि प्रेरणाका स्रोत बनेका छन् । कसरी सम्भव भयो ?
२०४५ सालमा बैतडीको सुर्नया गाउँपालिका–३ मा दुवै हातविहीन भएर जन्मिएका नन्दराजले शारीरिक अपाङ्गता हुँदैमा मानिस असफल हुँदैन भन्ने बलियो उदाहरण बनेर प्रमाणित गरेका छन् । हात नभए पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्न सफल उनी अपाङ्गता भएका व्यक्तिको हकअधिकारको क्षेत्रमा क्रियाशील छन् । उनको सक्रिय जीवनशैली हेर्दा लाग्छ, उनमा कुनै शारीरिक अपाङ्गता छैन । त्यसैले त उनी समाजका लागि प्रेरणाका स्रोत बनेका छन् ।
‘म जन्मिएको केही दिनसम्म त गाउँमा अनौठो बालक जन्मियो भनेर हेर्नेहरूको घुइँचो नै लाग्यो रे !’ उनी भन्छन्, ‘हेर्न आएकामध्ये कतिले आमाबुवालाई अपाङ्ग सन्तान पालेर के गर्छाै, कतै लगेर फालिदेऊ भन्ने सुझाव समेत दिएछन् । तर आमाबुवाको मन हो, आफैंले जन्माएको सन्तानलाई कसरी जिउँदै मार्न सक्थे ?’ परिवारकै सहयोगका कारण आफू सबल अवस्थासम्म आइपुगेको उनी बताउँछन् । आइपर्ने हरेक समस्यालाई कमजोरी होइन, चुनौतीका रूपमा लिएर अघि बढ्नुपर्ने उनको राय छ । दुवै हात नभएर पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल, अपाङ्गताको हकअधिकारका लागि क्रियाशीलता र अपाङ्गता भएका व्यक्तिमा जीवन उत्प्रेरणा जगाउने कार्यमा सक्रिय नन्दराजले सामाजिक रूपमा पनि आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् ।
सफलता प्राप्तिका लागि उनले जीवन र शरीरदेखि हार नमानी कठिन संघर्ष गरेका छन् । उनले अनेक चुनौतीका पहाडहरू छिचोलेका छन् । ‘दुवै हात नहुँदा शारीरिक कठिनाइ त छँदै थियो, कतिपय आफन्त, साथीभाइले हेयको रूपमा पनि हेरे । तर मैले जीवनदेखि हार मानिनँ बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाइ सँगसँगै अन्य कार्यलाई निरन्तरता दिएँ’, उनी भन्छन्, ‘शारीरिक अपाङ्गताका कारण शुरूका वर्षमा अध्ययनलाई अगाडि बढाउन निकै समस्या भयो । हात नभएकाहरूले लेख्न मात्र होइन, विद्यालय जान र कक्षा कोठामा बस्न पनि समस्या थियो ।’
परिवारको आर्थिक अवस्था कमजोर भए पनि परिवारले ३ कक्षासम्म घरमै अध्ययनको व्यवस्था ग¥यो । उनले थपे, ‘त्यसपछि बैतडीको वीरेन्द्र उच्च माविमा भर्ना भएँ र उच्च माविसम्मको शिक्षा त्यहीँबाट हासिल गरें ।’
मुख, कुहिना र खुट्टाको सहारामा चलाउँछन् कलम
‘सानो छँदा पहाडमा उकाली–ओराली गर्न सहज थिएन । आमाबुवाले नै काँधमा बोकेर विद्यालय पु¥याउने, ल्याउने काम गर्नुभयो,’ उनले सम्झिए । वीरेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न कैलाली पुगेको उनी बताउँछन् । समथर भौगोलिक बनावट र यातायातका साधनको सुगमताले तुलनात्मक रूपमा सहज त भयो तर शारीरिक अवस्थाले अध्ययनमा उनलाई कठिनाइ नै रह्यो ।
धनगढी आएपछि उच्च शिक्षा आर्जन गर्न शारीरिक अपाङ्गताकै कारण भर्ना पाउन पनि उनले कठिनाइ झेले । अपाङ्गमैत्री भवन नभएको कारण देखाउँदै कतिपय कलेजले भर्ना लिन नमानेको विगत उनको स्मरणमा ताजै छ । उनी भन्छन्, ‘मेरो बौद्धिक क्षमता नबुझी शारीरिक अपाङ्गता देखेर धेरै कलेजले भर्ना लिन मानेनन् तर समाजसेवी घनबहादुर शाहको मद्दतले कैलाली बहुमुखी क्याम्पसमा भर्ना हुन पाएँ ।’ भर्ना पाइकेपछि पनि अध्ययन अगाडि बढाउन त्यति सहज भने भएन । आफ्नो विगत सम्झेर आँसु झार्दै उनले भने, ‘सबै साङ्ग विद्यार्थीको बीचमा म एक्लो अपाङ्ग थिएँ । साथीहरूले जिस्क्याउँथे । त्यतिबेला मन अमिलो हुन्थ्यो तर मैले हरेश खाइनँ ।’
उनले अध्ययन मात्र गरेनन्, शुरूआती समयमा मुखले लेख्ने प्रयास गरे । ‘मुखले लेख्दा घाँटी दुख्न थालेपछि दुवै हातका कुहिना जोडेर लेख्न थालें,’ उनले भने, ‘५ कक्षासम्म पुग्दा मुख र खुट्टाले नै लेख्थें ।’ खुट्टाले लेख्दा कापी फोहोर हुन थालेपछि उनले कुहिनाले लेख्ने प्रयास गरे । मुस्कुराउँदै उनले भने, ‘अहिले मुख, कुहिना र खुट्टा तीनै अङ्गको सहारामा कलम चलाउन सक्छु । हिँड्ने, लेख्ने, पढ्ने मात्र होइन, मोबाइल चलाउने, आफ्नो दाह्री खौरिनेसम्मका काम आफैं गर्छु ।’
समाज सुधारमा सक्रिय
‘हातखुट्टा भएर पनि केही गर्न नसक्नेहरू पो अपाङ्ग हुन् त ! यो समाजले अपाङ्गताको सही अर्थ नबुझेका कारण हामीलाई गाह्रो भएको हो,’ उनी भन्छन्, ‘जीवनमा सफल हुन साङ्ग भएर मात्रै हुँदैन । सफलताका लागि त्योभन्दा पनि महत्त्वपूर्ण कुरा दृढ इच्छा र संकल्प रहेछ भन्ने कुरा प्रमाणित भएको छ ।’ जन्मिँदा अपाङ्ग छोरालाई फालिदिन आमाबुवालाई सुझाव दिनेहरू नै अहिले प्रशंसा गर्न थालेकाले ठूलो खुशी लाग्ने गरेको नन्दराज बताउँछन् । ‘म गाउँ गएका बेला वरिपरिका व्यक्तिहरू भेट्न आएर छोरा होस् त तिमीजस्तो भनेर जान्छन्,’ अनुहारमा खुशी छर्दै नन्दराजले भने । सामान्य लेखाइ मात्रै होइन, उनले कम्प्युटरमा पनि ‘डिप्लोमा कोर्स’ गरेका छन् ।
सामाजिक सक्रियताका कारण उनी सम्मानित समेत भएका छन् । अपाङ्गता भएका व्यक्तिलाई सामाजिक समायोजनको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले ‘राष्ट्रिय स्वयंसेवक अवार्ड २०१६’ बाट उनलाई सम्मान गरेको थियो ।
नेपाली साहित्यका विद्यार्थी भएकाले उनी साहित्य क्षेत्रमा पनि रुचि राख्छन् । कहिलेकाहीँ समसामयिक विषयमा कलम चलाउने भट्ट अपाङ्गताको सवाललाई समेटेर लेख रचनाहरू पनि लेख्छन् । उनले ‘बेलाको बोली’ विचार संग्रह प्रकाशन गरेका छन् ।
ओठ र नाकको सहायताले मोबाइल र कम्प्युटर पनि सजिलैसँग चलाउँछन् उनी । ‘कपडा धुने लगायतका अन्य कामहरूमा भने श्रीमतीले सघाउँछिन्,’ उनले भने । २०७१ सालमा प्रेम विवाह गरेका उनका १ छोरी छन् ।
म जन्मिदा मेरो परिवार रोएको थियो किनकी म अपागं भएर जन्मिए नन्दराज भन्छन् “स्वस्थ छोरो जन्मिएको भए खुशियाली छाउँथ्यो तर अपागं छोरो जन्मिएपछि यसलाई पालनपोषण देखी जिन्दगीभरी हेरचाह गरेर बस्नुपर्ने मात्रै हो भनेर सबै दुखी हुनु स्वभाविक थियो, पाल्ने की फाल्ने सम्मका गाउँमा बहस समेत चले, तर मेरो परिवारले जस्तो अवस्थामा भएपनि पालनपोषण गर्नुभयो, मलाई तत्कालिन भुवभेश्वर प्रार्थमिक बिद्यालयका प्रधानाध्यापक गजाधर भट्ट र सहायक प्रधानाध्यापक हर्क बहादुर बिष्ट सरले बिद्यालय आउन सुझाव दिनुभयो, अनी स्कुल पढ्न शुरु गरे र कक्षा ५ सम्मको अध्यायन गाउँकै स्कुलमा सकेर मेरो शैक्षिक यात्रा शुरु भएको थियो ।” ति दुई जना गुरुहरुले मेरो परिवारलाई पढाउन दिएको सुझाव म अझैँ सम्झिन्छु त्यही कारण मेरो आमा बुवाले मलाई स्कुल पठाउनुभयो नभन्दै स्कुलमा नतिजा राम्रै आउन थाल्यो उनि भन्छन् “त्यसपछि बाशुदेव माध्यमिक बिद्यालय लिस्किटामा कक्षा १० सम्मको अध्यायन गरे, मैले एस.एल.सी दिने बेला मलाई हेर्नेको भिड लाग्थ्यो, पढाइमा राम्रै देखिएपछि मैले उच्च शिक्षाका लागी तयारी गरे र बैतडी सदरमुकाममा उच्च शिक्षा अध्यायन गरे, त्यसपछि महेन्द्रनगर, धनगढी हुँदै काठमाण्डौँसम्म मेरो अध्यायन चल्यो ।”
अहिले नन्दराज सामाजिक कार्यक्रम सगैं अपागंता अधिकार सम्बन्धी काम गर्देै आएका छन् । धनगढीमा घर, घरेडी समेत जोडेका नन्दराजको परिवारमा श्रीमती, छोरी सगैं आमा भाई, बुहारी समेत छन् । उनको पहाड र तराइमा आधा–आधा परिवार बस्दै आएको छ । अपागंता भएर जन्मिएका नन्दराज सपागं भन्दा कयौँ गुणा बढी काम गरिरहँदा धेरै युवाहरुले उनबाट सिक्नपसिन जरुरी छ ।