धनगढी: कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा शनिबार बिहानदेखि स्वतन्त्र विद्यार्थी युनियनको मतदान जारी रहेको छ । शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिए पनि बिहान ८ः२० बाट मतदान कार्य सुरु भएको निर्वाचन समितिले जनाएको छ । एक हजार ६९१ जना मतदाता नामावलीमा नाम भएका विद्यार्थीले स्ववियु पदाधिकारी चयनका लागि बिहानदेखि लामबद्ध भएर मतदान प्रकृयामा भाग लिएका छन् ।
मतदान कार्यलाई शान्त र निष्पक्षरुपमा सम्पन्न गर्नका लागि मतदान क्षेत्रमा जनपद र सशस्त्र प्रहरीबलका सुरक्षाकर्मीहरु परिचालित गरिएको छ । चारवटा बुथबाट विद्यार्थीहरुले मतदान गरिरहेको निर्वाचन समितिका संयोजक बिनोदकुमार खड्काले जानकारी दिए । विद्यार्थीले आफ्नो परिचयपत्र देखाएर मतदान गर्न पाउने व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशको त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त धेरै विद्यार्थी सङ्ख्या भएको उक्त क्याम्पसको स्ववियु निर्वाचनलाई विशेष रुपमा हेरिएको छ ।
विगतमा अखिल क्रान्तिकारीबाट स्ववियुमा बहुमत बनाउदै आएको उक्त क्याम्पसमा यसपटक संयुक्त प्यानल बिच कडा प्रतिस्पर्धा देखिएको छ । उक्त निर्वाचन आफ्नो पक्षमा सफल बनाउन विभिन्न विद्यार्थीसङ्गठन आवद्ध राजनीतिक दलका केन्द्र, प्रदेशदेखि जिल्लातहका नेताहरुको बिहानैदेखि निर्वाचन स्थल वरपर भिडभाड लागेको छ । निर्वाचन प्रकृयामा भाग लिन यसअघि छ वटा सङ्गठन दर्ता भए पनि तीनवटा प्यानल विच प्रतिस्पर्धा हुने भएको छ । अखिल क्रान्तिकारीका गणेश भण्डारी अध्यक्ष रहेको प्यानलले अन्य तीन सङ्गठनलाई समेटेर संयुक्त प्यानल बनाएको छ भने नेपाल विद्यार्थी संघसहितको संयुक्त प्यानल रहेको अनेरास्ववियुका अशोक गौतम अध्यक्ष रहेको अर्को प्यानल रहेको छ । त्यसैगरी, अखिल (समाजवादी)का यामबहादुर खत्रीको छुट्टै प्यानल रहेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तालिका अनुसार चैत्र ५ गते सबै क्याम्पसमा निर्वाचनको मिति तोकिएको थियो, तर उक्त क्याम्पसमा विद्यार्थी नामावलीको विषयमा सहमति नजुटेपछि फागुन २६ गते नेपाल विद्यार्थीसंघले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रकृया स्थगित भएको थियो । समस्या समाधानका लागि विद्यार्थीसङ्गठनहरु बिचको छलफलपछि चैत्र २३ गतेलाई निर्वाचन तोकी नयाँ प्रकृयाबाट निर्वाचन अगाडि बढेको निर्वाचन समितिले जनाएको छ ।