कञ्चनपुर — बेलौरी नगरपालिका–२ टेडुवामा यसै साता दुई दिनदेखि गहुँबारीमा लुकेको बाघ डार्ट गरेर नियन्त्रणमा लिने प्रयास भइरहेको थियो । बाघलाई भाग्न नदिन बारी वरिपरि सेतो कपडा बेरिएको थियो । दुई वर्षअघि बेलौरीमै बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएका कारण स्थानीय त्राससँगै आक्रोशित पनि थिए । वरिपरि स्थानीय र सुरक्षाकर्मी । बीचमा हात्तीमा चढेर बाघ खोज्दै भौंतारिनु कम्ती चुनौतीपूर्ण थिएन । हात्तीमा बसेर बाघलाई ताक्दै दिनभरि भौंतारिए । दोस्रो दिनको मध्याह्नमा जब बाघनजिक पुगियो, राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका वन्यजन्तु प्राविधिक गणेश रानाले डार्ट गनबाट निसाना ताके ।
अगाडि हात्ती डोर्याउने माहुते । पछाडि सुरक्षाकर्मी र बीचमा बसेका रानाले बाघको नजिक पुग्नेबित्तिकै प्रहार गरे । लट्याउने औषधि भरिएको सुई बाघको शरीरमै ठोक्कियो । त्यसपछि उनले सबैलाई जानकारी दिन बूढीऔंला उठाउँदै ‘थम्स अप’ गरे । ‘सबैलाई जानकारी दिन यसैगरी संकेत गरिन्छ,’ रानाले भने, ‘एकैछिन बाघ दौडेर ढलिहाल्छ, त्यसपछि नियन्त्रणमा लिने हो ।’ दुई वर्षअघि बेलौरी नगरपालिका–८ खप्टी नालामा महिलामाथि आक्रमण गर्ने बाघलाई पनि रानाले नै डार्ट गन प्रहार गरेका थिए । त्यतिबेला बाघको आक्रमणबाट महिलाको मृत्यु भएका कारण स्थानीय झनै आक्रोशित थिए । वनकर्मीदेखि सुरक्षाकर्मी सबै बाघलाई नियन्त्रणमा लिने प्रयासमा सहभागी थिए । त्यतिबेला पनि बाघलाई नियन्त्रणमा लिन दुई दिन नै लागेको थियो ।
गत साउनमा दोधारा चाँदनी नगरपालिका–२ मा महिलाको ज्यान लिने बाघलाई पनि रानाले नै बेहोस पारेका थिए । त्यतिबेला पनि निकै मिहिनेत गर्नुपरेको थियो । ‘कहिले यता जाउ, कहिले उता जाउ, निकै थकान हुन्छ,’ राना भन्छन्, ‘फेरि देखिँदाखेरि पनि कति बेला हात्तीमाथि नै आक्रमण गर्ने कति बेला मान्छेमाथि नै आक्रमण गर्लाजस्तो गर्ने, निकै जोखिम हुन्छ ।’ रानाले योसहित ३ वटा बाघ र एक दर्जन हाराहारी चितुवालाई डार्ट गरेका छन् ।
बाघ भन्नेबित्तिकै डरसँगै कौतुहल पनि भइन्छ । बाघले आक्रमण गर्ने जोखिम हुने भएकाले धेरैलाई डर पनि लाग्छ । त्यही बाघ बस्तीमा पसेका बेला नियन्त्रणमा लिने कुरा कम्ती जोखिमयुक्त छैन । जोखिम मोलेर पनि बाघलाई डार्ट गर्न तत्पर हुन्छन् वन्यजन्तु प्राविधिक राना । उनी लामो समयदेखि पासोमा परेका र बस्तीमा पसेका हिंस्रक वन्यजन्तुलाई डार्ट गर्दै आएका छन् । ‘बाघभन्दा पनि चितुवालाई डार्ट गर्दा बढी जोखिम हुन्छ,’ रानाले भने, ‘चितुवा चञ्चले र बढी दौडिने भएकाले पनि निसाना लगाउनै गाह्रो हुन्छ, फेरि आक्रमण गर्ने जोखिम पनि बढी हुन्छ ।’ सुदूरपश्चिमका विभिन्न जिल्लामा पासोमा परेका र मानिसमाथि आक्रण गर्ने एक दर्जन हाराहारी चितुवालाई उनले डार्ट गरेका छन् ।
बाघ तथा चितुवालाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मी, वन तथा संरक्षित क्षेत्रका कर्मचारी सबै आ–आफ्नो क्षेत्रबाट लागेका हुन्छन् । तर प्रत्यक्ष रूपमा सुटरकै भूमिका महत्त्वपूर्ण देखिन्छ । सुटरले सही निसाना लगाउन सकेपछि मात्रै डार्ट गरेर बेहोस बनाई नियन्त्रणमा लिन सकिन्छ । ‘तराईमा हात्तीमाथि चढेर निसाना लगाउनुपर्ने हुन्छ, पहाडतिर अग्लो डाँडा र भीरमा पुगेर जोखिम मोलेर जानुपर्ने हुन्छ,’ राना भन्छन्, ‘सुरुमा त डर लाग्थ्यो, अब बानी परिसकें ।’ उनका अनुसार निसाना फिक्स गरेपछि केही समय श्वासप्रश्वास नै रोक्नुपर्छ । श्वास लिन थाले निसाना बिग्रिन्छ ।
कञ्चनपुरको वेदकोट नगरपालिका–१० दैजीका राना सामान्य लेखपढ मात्रै गर्न सक्छन् । १५ वर्षअघि चितवनमा वन्यजन्तु प्राविधिकको तालिममा सहभागी भएपछि मात्रै उनले यसबारे सिकेका हुन् । चितवन राष्ट्रिय निकुञ्जमै उनले अन्य सार्थीसँगै वन्यजन्तुका गणनादेखि उद्धार र डार्ट गर्ने विधि सिकेका हुन् । साढे तीन वर्ष तालिमपश्चात् उनी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आएका हुन् । अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रममा वन्यजन्तुलाई डार्ट गर्न सक्ने उनीसहित ५र६ जना तयार भएका छन् । चितुवालाई यहीँको टोली एक्लैले डार्ट गरेर उद्धार तथा नियन्त्रणमा लिन थालेको चाररपाँच वर्ष भयो । बाघलाई नियन्त्रणमा लिन भने सहयोगीका रूपमा बर्दियाबाट प्राविधिकको टोली आउने गरेको थियो ।
‘यस पटक यहीँको टोलीले सफलतापूर्वक त्यो काम गर्न सक्यो,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘अन्यत्रबाट प्राविधिक टोली मगाउँदा बढी समय पर्खिनुपर्ने बाध्यता हुन्थ्यो, अब त्यो समस्या समाधान भएको छ ।’ उनले सुरक्षाकर्मीदेखि निकुञ्ज सबैको संयुक्त प्रयासबाट मात्रै वन्यजन्तुलाई नियन्त्रणमा लिन सफलता मिल्ने बताए ।कान्तिपुरबाट